
उर्लाबारी । मोरङको उर्लाबारीमा सुरु भएको उर्लाबारी च्यालेन्ज कप फुटबल टुर्नामेन्ट २०७९ को उद्घाटन खेलमा आयोजक विजयी भएको छ ।
उर्लाबारी युवा क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक निलो विजयी भएको हो । अमरदह स्पोर्टिङ क्लबलाई ३–० गोल अन्तरले हराउँदै उर्लाबारी विजयी भएको खेल संयोजक विजु श्रेष्ठले जानकारी दिनुभयो । खेलको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले गर्नुभयो । मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिव बुढाथोकीले मोरङ जिल्ला फुटबलको उर्वरभूमी रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष रविन लामा, मोरङ फुटबल संघ मोरङका पूर्व अध्यक्ष दिपेन्द्र धिमाल, उर्लाबारी युवा क्लबका अध्यक्ष पवन थापा, व्यवसायी सचिन शाक्यलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम खेल संयोजक विजु श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।