
टिका सिम्खडा
उर्लाबारी । मोरङको उर्लाबारी–८ सिसौलीमा प्रथम सिसौली नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
आज उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा मंगलबारे फुटबल क्लब उर्लाबारी र रमाइलो युवा परिवार कानेपोखरीबीच भएको थियो । पहिलो हाफमा रमाइलोले एक गोल गरेको भएपनि दोस्रो हाफको ११ मिनेटको खेल जारी रहँदा हावाहुरी आएपछि खेल स्थगित गरिएको छ । स्थगित भएको खेल बुधबार हुने आयोजकले जनाएको छ । बुधबारको खेल बेलबारी फुटबल क्लब मोरङ र सिंरिजंघा फुटबल क्लब पथरीबीच प्रतिष्पर्धा हुने संयोजक रञ्जित सुब्बाले जानकारी दिनुभयो ।
सिसौली फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा देशविदेशमा रहनु भएका सहयोगी दाताहरुको सहयोग रहेको छ । उक्त प्रतियोगितामा मोरङ र झापाका ८ टिमको सहभागिता रहेको छ । मंगलबारे फुटबल क्लब उर्लाबारी, रमाइलो युवा परिवार कानेपोखरी, चुलाचुली फुटबल क्लब दमक, पथरी फुटबल क्लब मोरङ, बेलबारी फुटबल क्लब मोरङ, सिरिजंघा फुटबल क्लब पथरी, रतुवामाई नगरपालिका रतुवामाई र सिसौली फुटबल क्लब आयोजक रहेको संयोजक सुब्बाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार प्रदान गरिने सचिब प्रेम लिम्बूले बताउनुभयो । उहाँले नयाँ खेलाडी उत्पादनसँगै युवाहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्न सो प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । जेठ ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विशाल तामाङ, उर्लाबारी वडा नं. ५ का सदस्य विनोद धिमाल, वडा नं. ८ का सदस्य रुद्र लामिछाने, डम्बर बराल, समाजसेबी अग्नी सुब्बा , फुटबल खेलाडी दिपक राई, सञ्चार क्लब नेपालका पूर्वअध्यक्षहरु रुपेन्द्र शेर्मा, घनश्याम भण्डारी, सरोज बस्नेत, पत्रकार विजय धिमाल, किशोर श्रेष्ठ, दिपक वास्तोलालगायतको उपस्थिति रहेको थियो ।