
उर्लाबारी, उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बृहत स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई सात दिने तालिम बिहीबारबाट सुरु भएको छ । उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलले तालिम उद्घाटन कार्यक्रममा बोल्दै बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण दरिलो जग भएको बताउनुभएको छ । उहाँले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उपमेयर पौडेलले तालिम सिकेका स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी समाजमा अझ बढी सचेतना फैलाउन आग्रह गर्नुभयो । उहाँले समाजमा पोषणको बारेमा धेरै जानकारी नहुँदा यसको महत्व बुझ्न नसकिएको हुँदा यस प्रकारको प्रशिक्षक, प्रशिक्षण तालिमले बढी टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधार तथा कुपोषण सम्बन्धी समुदायमा सचेतना फैलाउनका निम्ति स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण तथा क्षमता अभिवृद्धि तालिम दिइएको नगरका जनस्वास्थ्य अधिकृत सुरेश खड्काले जानकारी दिनुभयो । तालिममा नगरपालिका स्वास्थ्य शाखा मातहतका ३० जना स्वास्थ्यकर्मीलाई सहभागी गराइएको छ ।
स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेले जनाउनुभयो । उर्लाबारी ४ सिसौलीस्थित कात्यायानी हेरिटेजको सभाहलमा भएको तालिममा जहदा गाउँ पालिकाका जनस्वास्थ्य निरीक्षक प्रितम गुप्ता, रतुवामाईका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार साहलगायतले प्रशिक्षण दिइरहेका छन् । राष्ट्रिय पोषण, नीति तथा रणनीति, राष्ट्रिय पोषण कार्यक्रम, बहु क्षेत्रीय पोषण योजना, पोषिलो खाजा, पोषणको महत्व र आवश्यकता तालिमको विषय रहेको बताइएको छ ।