
उर्लाबारी । उर्लाबारीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उर्लाबारी–४ क्याम्पस नजिक निर्माण गरिएको सो केन्द्रको उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले उद्घाटन गर्नुभएको हो । उर्लाबारी , पथरी , कानेपोखरी, रतुवामाई , मिक्लाजुङ र लेटाङ लगायत क्षेत्रका सर्पदंशका बिरामीहरुलाई लक्षित गरेर रेडक्रस सोसाइटी उर्लाबारीले सो केन्द्र सञ्चालनमा ल्याएको हो । ४ जना स्वास्थ्य प्राविधिसहितको टोली परिचालन गरिएको सदस्य घनश्याम भण्डारीले जानकारी दिनुभयो । सर्पको डसाईबाट अकालमै कसैको मृत्यु नहोस् भन्ने हेतुले उर्लाबारीमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको उहाँको भनाई छ । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बाफो, उर्लाबारीकी उपप्रमुख मिनादेवी खतिवडा पौडेल, नेकपा माओवादी केन्द्रका उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्नुभएको थियो । उर्लाबारी रेडक्रसका सभापति भानुभक्त शर्मा पराजुलीको सभापतित्व भएको उक्त कार्यक्रम सञ्चालन सचिब गोपाल रिमालले गर्नुभएको थियो ।