उर्लाबारी, उर्लाबारी–३ मंगलबारेस्थित अस्थायी प्रहरी चौकी परिसरमा निर्माण गरिएको काली मन्दिरको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। सो मन्दिरको उद्घाटन कोशी प्रदेशका प्रहरी उपरीक्षक (एसएसपी) भिमबहादुर दाहाल र उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले संयुक्त रूपमा गरेका छन् ।
गत वर्ष राम नवमीको अवसरमा शिलान्यास गरिएको मन्दिर स्थानीयहरूको सहयोगमा निर्माण भएको हो। करिब ८ लाख ७५ हजार रुपैयाँ लागतमा बनेको उक्त मन्दिर निर्माणका लागि नगद र जिन्सी दुवै सहयोग संकलन गरिएको निर्माण समितिका संयोजक समिर कुईकेलले जानकारी दिए ।
कार्यक्रमको सुरुमा राष्ट्रिय झण्डा फहराई राष्ट्रिय गान बजाइएको थियो। पूजाआराधना सहित उद्घाटन गरिएको मन्दिरमा परम्पराअनुसार कालो बोकोको बलि समेत दिइएको थियो।
सो अवसरमा मन्दिर निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रन्जन बराल, वडा नं. ३ का अध्यक्ष भिष्मराज बुढाथोकी, जिल्ला समन्वय समितिका सदस्य मित्रप्रसाद ढकाल, युवा व्यवसायी सचिन शाक्य, स्थानीय जनप्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो।
निर्माण समितीका सचिव पिपलराज गिरीले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य आर्थिक समितीका संयोजक महेन्द्र थापाले राखेका थिए ।
मन्दिर उद्घाटनसँगै अब मन्दिर दैनिक पूजा–आराधना गर्न सर्वसाधारणका लागि खुला गरिएको आयोजकले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय