उर्लाबारी । मोरङ निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार प्रेम वर्देवाले अत्यन्त न्यून खर्चमा निर्वाचन लडेको दाबी गर्नुभएको छ ।
उहाँले आफूले जम्मा १२ हजार ७ सय रुपैयाँ मात्र खर्च गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभएको हो । वर्देवाका अनुसार महँगो प्रचारप्रसार र तामझामबिना पनि निर्वाचन लड्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्यले आफूले सादा अभियान सञ्चालन गर्नुभएको थियो । “निर्वाचन भनेको पैसाको खेल मात्र होइन, विचार र जनसमर्थनको लडाइँ हो,” उहाँले भन्नुभयो । उहाँले पोस्टर, पम्पलेट तथा भड्किलो कार्यक्रम नगरी चुनाबी अभियानलाई प्राथमिकता दिएको बताउनुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि मतदातासँग प्रत्यक्ष संवाद गरेर समर्थन जुटाउने प्रयास गरेको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवार वर्देवाले आफ्नो खर्च विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आगामी दिनमा निर्वाचन प्रणालीलाई खर्चमुखीभन्दा विचारमुखी बनाउन आवश्यक रहेको उहाँको धारणा छ । उहाँको यो दाबीले निर्वाचनमा बढ्दो खर्चप्रति प्रश्न उठाउँदै सरल र कम खर्चिलो चुनावी अभ्यासको बहसलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।























