मधुमल्ला । मोरङको मिक्लाजुङ–७, मधुमल्लास्थित रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलमा विद्यार्थीलाई अन्तरिक्ष अनुसन्धानसँग प्रत्यक्ष जोड्ने उद्देश्यले सञ्चालन
गरिएको क्षुद्रग्रह (एस्टेरोइड) खोजीसम्बन्धी दुईदिने प्रशिक्षण सम्पन्न भएको छ ।
रिलायन्स इङ्लिस सेकेन्डरी स्कुलअन्तर्गतको रिलायन्स एस्ट्रोनोमी क्लबको आयोजनामा शुक्रबार र शनिबार सञ्चालन गरिएको प्रशिक्षणमा उर्लाबारी, दमक र मिक्लाजुङ क्षेत्रका आठ विद्यालयका करिब ५० विद्यार्थी सहभागी भएका थिए । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) तथा अन्तर्राष्ट्रिय खगोलीय खोज अभियानसँगको सहकार्यमा सञ्चालन भइरहेको एकवर्षे क्षुद्रग्रह खोजी अभियान–२०२६ अन्तर्गत प्रशिक्षण आयोजना गरिएको हो । विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानको सैद्धान्तिक ज्ञानसँगै वास्तविक वैज्ञानिक अनुसन्धानमा सहभागी गराउने उद्देश्यले अभियान अघि बढाइएको विद्यालयका इन्चार्ज निखिल अग्रवालले जानकारी दिनुभयो । प्रशिक्षणमा विद्यार्थीलाई क्षुद्रग्रह पहिचान तथा खोजी गर्ने वैज्ञानिक विधिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका सुरेश भट्टराई र कार्यक्रम संयोजक मनीषा दुआले प्रशिक्षणको सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीले खगोलीय तथ्यांक कसरी अध्ययन तथा विश्लेषण गर्ने, आकाशीय पिण्डबीच क्षुद्रग्रह कसरी पहिचान गर्ने तथा वैज्ञानिक अनुसन्धानका आधारभूत प्रक्रिया कसरी अपनाउने भन्नेबारे जानकारी हासिल गरेका थिए । अभियानअन्तर्गत विद्यार्थीले अन्तर्राष्ट्रिय खगोलीय खोज अभियान (IASC) बाट उपलब्ध गराइने वास्तविक खगोलीय तथ्यांकमा काम गर्नेछन्। प्राप्त तथ्यांकलाई वैज्ञानिक विधिबाट विश्लेषण गर्दै विद्यार्थीले सम्भावित नयाँ क्षुद्रग्रह पहिचान गर्नेछन् । यसका लागि उनीहरूले कम्प्युटर तथा विभिन्न वैज्ञानिक उपकरण र प्रविधिको प्रयोग गर्दै खगोलीय तथ्यांकको अध्ययन
गर्नेछन् । आयोजकका अनुसार विद्यार्थीले पहिचान गरेको सम्भावित क्षुद्रग्रह वैज्ञानिक प्रक्रियाबाट पुष्टि भएमा उनीहरूको योगदानले अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा समेत मान्यता पाउने अवसर हुनेछ । यस्ता खोज वैज्ञानिक अभिलेख तथा प्रकाशनमा समावेश हुन सक्नेछन् । वैज्ञानिक प्रक्रिया पूरा गरी नामकरणका लागि योग्य ठहरिएको क्षुद्रग्रहमा खोजकर्ताले नाम प्रस्ताव गर्ने अवसरसमेत प्राप्त गर्न सक्ने बताइएको छ । प्रशिक्षण सम्पन्न भएसँगै अभियानको मुख्य चरण सुरु भएको विद्यालयका निर्देशक सुवास राईले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीले अब एक वर्षसम्म नियमित रूपमा क्षुद्रग्रह खोजी तथा खगोलीय तथ्यांक विश्लेषणको काम गर्नेछन् । “विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा पढाइने विषयमा सीमित नराखी प्रत्यक्ष अनुसन्धानमा सहभागी गराउने हाम्रो उद्देश्य हो,” निर्देशक राईले भन्नुभयो, “यसबाट विद्यार्थीले अन्तरिक्ष विज्ञानसँगै अनुसन्धानको व्यावहारिक अनुभव हासिल गर्नेछन् ।” अभियानमा सहभागी विद्यार्थीका लागि यो अवसर अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा
प्रारम्भिक पाइला चाल्ने महत्वपूर्ण माध्यम बनेको आयोजकको विश्वास छ । विद्यालय तहबाटै वास्तविक वैज्ञानिक तथ्यांकमा काम गर्ने अवसरले विद्यार्थीमा वैज्ञानिक सोच, जिज्ञासा, समस्या समाधान गर्ने क्षमता, तथ्यांक विश्लेषण गर्ने सीप र अनुसन्धानप्रतिको रुचि विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अन्तरिक्ष तथा खगोल विज्ञानप्रति विद्यार्थीको रुचि बढ्दै गएको अवस्थामा मधुमल्लाबाट सुरु गरिएको यो अभियानले स्थानीय विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक अनुसन्धान प्रक्रियासँग जोड्ने प्रयास गरेको छ । प्रशिक्षणमा सहभागी विद्यार्थीले समेत पहिलोपटक वास्तविक खगोलीय तथ्यांक अध्ययन तथा क्षुद्रग्रह खोजीसम्बन्धी अभ्यास गर्न पाउँदा उत्साहित भएको बताएका छन् । आयोजकका अनुसार प्रशिक्षणमा विद्यार्थीको सहभागिता र उत्साह उल्लेखनीय रहेको थियो । रिलायन्स एस्ट्रोनोमी क्लबले आगामी एक वर्षसम्म अभियानलाई निरन्तरता दिँदै विद्यार्थीको खोजी तथा अनुसन्धान गतिविधिलाई सहजीकरण गर्ने जनाएको छ । मधुमल्लाबाट सुरु भएको यो प्रयासले विद्यालय तहका विद्यार्थीलाई ‘अन्तरिक्ष हेर्ने’ मात्र होइन, अन्तरिक्षमा अनुसन्धान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।























