उर्लाबारी । क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी उर्लाबारी–७ की ११ वर्षीया निया प्रधानको उपचारमा पशुपति आवासीय माध्यमिक विद्यालयले सहयोगको हात अघि बढाएको छ । विद्यालयले नियाको उपचारका लागि २ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बाल दिवसको अवसर पारेर विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ । निया पशुपति आवासीय माध्यमिक विद्यालयमै अध्ययनरत विद्यार्थी हुन् । क्यान्सरको उपचारका क्रममा एउटा खुट्टा काट्नुपरेपछि निया अहिले काठमाडौंमा उपचाररत छिन् । लामो समयदेखि अस्पतालमा उपचार गराइरहेकी उनको उपचार खर्च बढ्दै गएपछि परिवार आर्थिक समस्यामा परेको छ । छोरीको उपचारका लागि बुबा मनिष प्रधानसहित परिवार निरन्तर अस्पतालमा खटिरहेको छ ।
विद्यालयकी संयोजक श्रेयश्री थापाका अनुसार पशुपति आवासीय माध्यमिक विद्यालयले हरेक वर्ष बाल दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसपटक आफ्नै विद्यालयकी विद्यार्थी निया गम्भीर रोगसँग संघर्ष गरिरहेको अवस्थामा उनको उपचारमा सहयोग गर्ने निर्णय गरिएको उहाँको भनाई छ । नियाको उपचारका लागि विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीबाट रकम संकलन गरिएको थियो । संकलित २ लाख १० हजार रुपैयाँ बैंकमार्फत नियाको उपचार कोषमा जम्मा गरिएको संयोजक थापाले जानकारी दिनुभयो । नियाको उपचारमा आर्थिक सहयोगसँगै परिवारलाई हौसला, माया र साथको पनि उत्तिकै आवश्यकता रहेको परिवारले जनाएको छ । विद्यालयका प्रिन्सिपल आनन्द कार्कीले नियाको उपचारमा सहयोग गर्न देश तथा विदेशमा रहेका नेपाली, सहयोगी मन, नागरिक समाज, संघसंस्था तथा शुभेच्छुकहरूलाई अपिल गर्नुभएको छ । उहाँले आफ्नो सानो सहयोगले पनि नियाको उपचार यात्रामा ठूलो आशा र हौसला थप्न सक्ने भन्दै सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय