
उर्लाबारी । शिक्षासँगै सामाजिक कार्यमा समेत अग्रसर निजी विद्यालयहरूको छाता संगठन उर्लाबारी नगर प्याब्सनले आर्थिक अवस्था कमजोर भएका एक कर्मचारीको उपचारका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
उर्लाबारी–७ स्थित भृकुटी एकाडेमीमा कार्यरत कर्मचारी तुलसी खड्कालाई सो रकम प्रदान गरेको हो । खड्का उच्च रक्तचापका कारण प्यारालाइसिस भई टिचिङ अस्पताल, विराटनगरमा उपचाररत रहेका छन ।
उर्लाबारी ७ स्थित नगर प्याब्सनको कार्यलयमा बुधवार आयोजित एक कार्यक्रमबीच उक्त रकम उनकी श्रीमती पवित्रा खड्कालाई हस्तान्तरण गरिएको थियो। सहयोग रकम उर्लाबारी नगर प्याब्सन अन्तर्गतका विद्यालयका संस्थापक, प्रिन्सिपल तथा सञ्चालकहरूको पहलमा संकलन गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्याब्सन अध्यक्ष सूर्य पौडेल, सचिव एल.पी. राई, सल्लाहकारहरू दिनेश पोखरेल, लेखनाथ भट्टराई, सुरेन्द्र सुवेदी र भुवन श्रेष्ठ लगायत प्याब्सनमा आवद्ध विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष पौडेलले शिक्षण क्षेत्रका कर्मचारीहरूको पीडामा साथ दिने प्रयत्न नगर प्याब्सनले निरन्तर गर्दै आएको बताउँदै भविष्यमा पनि यस्ता सहयोगात्मक कदमहरू जारी रहने प्रतिवद्धता जनाए।
प्याब्सनको उक्त सहयोगले सामाजिक उत्तरदायित्वप्रति निजी विद्यालयहरूको सक्रियता झल्किएको कार्यक्रमका सहभागीहरूले बताएका छन ।