
उर्लाबारी । नेपाली वैज्ञानिक डा. महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक रकम जुटाउने उद्देश्यले देशभर पुस्तक बिक्री गर्दै यात्रा गरिरहनुभएको छ । सोही क्रममा आइतबार अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमुले डा. पुनको अभियानमा साथ दिँदै ७० थान पुस्तक खरिद गर्नुभएको छ । उर्लाबारी–५ स्थित हस्पिटलमै बोलाएर अध्यक्ष पोमुले सो पुस्तक खरिद गर्नुभएको छ ।
विगत ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना संचालनको लागि सरकारले वाचा गरे पनि आवश्यक बजेट उपलब्ध नगराएपछि पुनले आफ्नै जीवनीमा आधारित पुस्तक लेखेर त्यसको बिक्रीमार्फत रकम संकलन गर्ने निर्णय गर्नुभएको थियो । पुनद्वारा लिखित ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक विक्री गर्दै देशव्यापी यात्रामा निस्कनुभएको छ । देशका ७७ वटै जिल्लामा पुगेर ३ लाख प्रति पुस्तक बेच्ने लक्ष्यसहित यात्रा गरिरहनुभएका डा. पुनले उर्लाबारीमा हालसम्म १ हजार ५ सय भन्दा बढी पुस्तक बिक्री गरिसक्नुभएको छ ।