उर्लाबारी | उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा दमक र उर्लाबारी जोड्ने झोलुङ्गे पुल निर्माणको माग तीव्र भएको छ। उर्लाबारी -७ को मावा पुलदेखि दक्षिण, चिउरामिलदेखि पूर्व र बरगाछी चोकबाट पूर्व पर्ने उक्त क्षेत्रमा झोलुङ्गे पुल आवश्यक रहेको स्थानीय व्यापारीहरूले बताएका छन्।
स्थानीय व्यापारी सुरज गौतमका अनुसार “यदि उक्त स्थानमा झोलुङ्गे पुल बनाइयो भने दमक क्षेत्रका व्यापारीहरू उर्लाबारी बजारसम्म सहजै आइपुग्न सक्नेछन्। यसले उर्लाबारी बजारको विस्तारमा उल्लेखनीय टेवा पुग्नेछ।” उनले यो माग उर्लाबारी क्षेत्रका थुप्रै व्यापारीहरूको साझा आवाज भएको पनि बताए।
यसैबीच, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलसँग यस विषयमा बुझ्दा उनले स्थानीय व्यापारीहरूको सुझावलाई ध्यानमा राखेर नगरपालिका छलफलमा जुटिरहेको जानकारी दिए। “व्यापारीहरूको सल्लाहमा मावा खोलामा झोलुङ्गे पुल निर्माणको सम्भाव्यता बारे हामी छलफल गरिरहेका छौं,” नगर प्रमुख खरेलले प्रतिक्रिया दिए।
स्थानीयस्तरमा व्यापारी र बासिन्दाहरूको बढ्दो आवाजसँगै अब यस प्रस्तावलाई नीतिगत तहमा लैजानु पर्ने माग पनि उठ्न थालेको छ। यदि आवश्यक पूर्वाधार निर्माण कार्य अगाडि बढाइयो भने यसले उर्लाबारीलाई क्षेत्रीय व्यापार केन्द्रको रूपमा विकास गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय