पथरी । पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित पथरी नगर अस्पतालले आफ्नो छैटौं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा अस्पताल परिसरमै आज निःशुल्क दन्त शिविर सञ्चालन गरिएको हो।
शिविर असहाय मानव सेवा समाज दमकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा पञ्चायत माविका वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेस नगर उपाध्यक्ष के.बी. गुरुङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर), तथा संविधानसभा सदस्य चण्डीप्रसाद राईले शुभकामना मन्तव्य व्यक्त गरे।
वार्षिकोत्सवकै अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी डा. ओम शान्ति रजक र कर्मचारी एल्डिना गुरुङलाई सम्मान गरिएको थियो। अस्पतालमा हाल ६४ जना कर्मचारी कार्यरत रहेको जानकारी दिँदै नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरेका थिए।
उनका अनुसार चालू वर्षमा हालसम्म अस्पतालमा कुल १ लाख २ हजार १ सय ८७ जनाले सेवा लिएका छन्। त्यस्तै, अस्पतालको कुल आम्दानी ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ, खर्च १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ र बचत १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ रहेको छ।
स्थापनाको छैटौं वर्ष पार गरेको पथरी नगर अस्पतालले स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय