मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहेका २१ जना व्यवसायीहरूलाई सम्मान तथा व्यवसाय प्रवर्द्धनका लागि सामग्री वितरण गरेको छ। गाउँपालिकाको वडा नं. १ देखि ९ सम्मका यी व्यवसायीहरूले कृषि, होटल, हस्तकला, अटो र सफारी सेवा क्षेत्रमा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।
आइतबार मिक्लाजुङ गाउँपालीकाकाो सभाहलमा रेमी परियोजनाअन्तर्गत आयोजित यो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बबिकुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अध्यक्ष राईले यो कार्यक्रमले वैदेशिक रोजगारबाट फर्केका व्यवसायीहरूलाई थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यवसायीहरूलाई गाउँपालिकासँग सहकार्य गरी अगाडि बढ्न सुझावसमेत दिनुभयो।
कार्यक्रममा व्यवसायीहरूको मागअनुसार चापकटर, ब्याट्री, सानो मिल, मोटरलगायतका सामग्री वितरण गरिएको थियो। यी सामग्रीले व्यवसायीहरूको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बबि कुमार राई, उपाध्यक्ष दीनेश पौडेल र वडा नं. १ का वडाध्यक्ष पर्वत राईले व्यवसायिहरूलाई अबिर, खादा र सम्मान पत्रले सम्मान गर्नु भएको थियो । मिक्लाजुङ गाउँपालिकाको रोजगार शाखा प्रमुख क्षितीज चेम्जोङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
यो पहलले स्वदेशमै स्वरोजगार बन्न चाहनेहरूलाई प्रोत्साहन गर्नुका साथै स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय