उर्लाबारी नगरपालिका रोजगार सेवा केन्द्र रेमी परियोजनाद्वारा सीप सिकेका व्यक्तिलाई सहयोगी सामग्री वितरण गरिएको छ । वैदेशिक रोजगारबाट फर्की स्वदेशमै व्यवसाय सुरु तथा विस्तार गर्न लागेका व्यक्तिहरुलाई सम्मानसहित प्राविधिक उपकरणहरु प्रदान गरिएको हो ।
नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेलले १३ जना रिटर्नीहरुलाई सहयोगी सामग्री तथा रिटर्नी संजालको कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गर्नुभएको छ । सामग्री हस्तान्तरण गर्नुअधि नगर प्रमुख, उपप्रमुखका अलवा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले एक कार्यक्रमका बीच रिटर्नीहरुलाई सम्मान गर्नुभएको थियो । व्यक्तिको उद्यम व्यवसाय हेरी आवश्यक पर्ने ८ फ्रेमको महदानीहरु, तीन हजार लिटरको डिप फ्रिज, चापकटर, वल्डिङ मेसिन, मिग वल्डिङ मेसिन, वएट मेसिन, कम्बाइन मिल, मिनि मिल, हिल्ट्री ड्रिल मेसिन, काठका र्याकहरु लगायत सामग्री उपलब्ध गराइएको नगरपालिकाका रोजगार शाखा प्रमुख विनिता शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख खरेलले सहयोगी सामग्री प्राप्त गर्ने व्यक्तिहरु स्वरोजगार हुनेमा विश्वास व्यक्त गर्नुभयो । सीपलाई आयआर्जनसँग जोड्न उहाँले अपिल गर्नुभयो । उपप्रमुख पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई उद्यमशीलतासँग जोड्न उर्लाबारी नगरपालिका रिटर्नीहरुको साथमै रहेको बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा रेमी परियोजनाकी रोजगार परामर्शकर्ता संगिता कार्की, परिवार परामर्शकर्ता रुपा न्यौपाने, सामाजिक परिचालक सविना भट्टराई तथा किरण राईलगायत रिटर्नी स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।























