
उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले दैनिक रूपमा खुद्रा व्यवसायीहरूले भोग्दै आएका समस्याप्रति नगरपालिका संवेदनशील रहेको बताएका छन् ।
शुक्रबार मोरङ खुद्रा व्यापार संघको २०औं वार्षिक तथा १०औं चुनावी साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले उर्लाबारीको शुक्रबारे साप्ताहिक हाटमा बसपार्क निर्माण कार्य भइरहेकाले उत्पन्न असहजतालाई चाँडै समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले साप्ताहिक हाटलाई ‘प्राइम लोकेशन’मा स्थानान्तरण गर्ने गृहकार्य भइरहेको उल्लेख गर्दै केही समय धैर्य गर्न व्यापारीलाई आग्रह गरेकाो नगर प्रमुखको सचिवालयले जनाएका छन् ।
“खुद्रा व्यवसायीहरू हाम्रा व्यावसायिक संरचनाको मेरुदण्ड हुन् । उनीहरूको समस्या हाम्रो पनि समस्या हो,” नगर प्रमुख खरेलले भने, “ओत लाग्ने संरचना बनाई घामपानी, हुरी–बतास, हिउँद–बर्खाको समस्या नहोस् भन्ने हाम्रो प्रतिबद्धता छ ।”
कार्यक्रममा सहभागी व्यवसायीहरूले हाट व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा दैनिक झन्झट व्यहोर्नुपरेको गुनासो गरेका थिए । राजस्वमा योगदान दिँदासमेत उचित सम्मान र सुरक्षा नपाएको भन्दै उनीहरूले राज्य समक्ष अधिकार र सुरक्षाको माग गरेका थिए ।
सो अवसरमा संघका अध्यक्ष ओमप्रसाद लिम्बूले विगत २० वर्षको यात्रालाई समेट्दै संघले खुद्रा व्यवसायीको हकहितमा उल्लेखनीय काम गरेको जानकारी दिएका छन् । सल्लाहकार संयोजक गोपालकुमार घिमिरे, उर्लाबारी उद्योग वाणिज्य संघका उद्योग सचिव भेषबन्धु निरौला, उर्लाबारी ६ का वडा सदस्य बम श्रेष्ठ लगायतले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष ओमप्रसाद लिम्बूको अध्यक्षता, सचिव नारायण खतिवडाको सञ्चालन र उपाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।
नयाँ नेतृत्व चयन:
त्यसैगरी, मोरङ खुद्रा व्यापार संघको नयाँ नेतृत्व पनि शुक्रबार नै चयन गरिएको छ । राजकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको संघले जानकारी दिएको छ ।