
संगीता राई, पथरी ।
मोरङको पथरीमा भारतीय नाटककार हबिब तनवीरद्वारा लिखित चर्चित नाटक ‘चरणदास चोर’ मञ्चन हुने भएको छ ।
पथरीशनिश्चरेमा स्थापित ‘शब्द थिएटर’को ब्यानरमा साउन ३१ गतेदेखि मञ्चन हुने भएको हो । स्थानीय हरियाली सामुदायिक वनको हलमा प्रदर्शन हुने नाटक जीवन बरालले निर्देशन हुनुहुनेछ । भारत, बंगलादेश र नेपालमा निकै चर्चा कमाएको नाटक चरणदास चोर पथरीको पञ्चायत माविमा रियल्सन भइरहेको र नाटकलाई स्थानीय परिबेसमा ढालिएको निर्देशक जीवन बरालले बताउनुभयो । नाटकमा अशोक साम्पाङ, सुमन कुइकेल, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेतको अभियन रहने छ । त्यसैगरी ग्रिष्म लिम्बू, अनिषा श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहने नाटकमा कोरियोग्राफी राम विकले गर्नुहुनेछ । संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले जनाएको छ ।
नाटक चरणदास चोरको नेपालीमा अनुवाद राजन खतिवडा र अशान्त शर्माले गर्नुभएको थियो । शब्द थिएटरले यस अघि ‘अनि देउराली रुन्छ’ प्रदर्शन गरेको थियो । हबिबले सन १९७५ मा लेखेको नाटकमा दरबारकी रानीले समेत मन पराएको एउटा चोर कथा रहेको छ ।