उर्लाबारी – सहारा नेपाल साकोस मंगलवारे सेवा केन्द्रको आयोजनामा आज उर्लाबारी नगरपालिका–२, पुरानो मंगलवारेस्थित राधा कृष्ण मन्दिर प्राङ्गणमा सदस्य विस्तारित मञ्च तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।

सयपत्री सहारा महिला समूहकी अध्यक्ष सीता देवी बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ की महिला सदस्य सीता डाँगी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पथरीका अनुगमन अधिकृत महेश तामाङ, मंगलवारे सेवा केन्द्र उपसमिति सदस्य इन्द्रकुमार शेर्पा, गोमा भट्टराई, हिरालाल गिरी, सहारा नेपाल साकोसका कृषि प्राविधिक संजित यादव लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सनाले प्रस्तुत गर्दै, संस्थाले महिलाबीच आपसी सम्बन्ध बलियो बनाउँदै सहकारीलाई दिगो र उत्कृष्ट बनाउन यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। साथै, नेपाली नारीहरूको महान चाड हरितालिका तीज २०८२ का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम मनोरञ्जनात्मक तरिकाले सञ्चालन गरिनुका साथै म्युजिकल चेयर, नृत्य तथा गायन प्रतियोगिता, उत्कृष्ट समूह सम्मान लगायतका गतिविधिहरू सम्पन्न गरिएको थियो। अनुगमन अधिकृत महेश तामाङले सहकारीको विगत र वर्तमान अवस्था, सरकारी नीतिनियम तथा वित्तीय विवरणबारे स्पष्ट पार्नुभएको थियो। प्रतियोगितामा म्युजिकल चेयरतर्फ मिना तामाङ प्रथम र खिनादेवी शिवाकोटी द्वितीय घोषित भए। उत्कृष्ट समूहतर्फ सयपत्री सहारा महिला समूहलाई प्रमुख अतिथि सीता डाँगी र अनुगमन अधिकृत महेश तामाङले संयुक्त रूपमा प्रशंसा पत्र प्रदान गर्नुभएको थियो। प्रमुख अतिथि सीता डाँगीले शुभकामना मन्तव्य दिँदै, संस्थाले महिलाहरूलाई एकताबद्ध गर्दै अघि बढाएकोमा प्रशंसा गर्नुभयो। उहाँले सहारा नेपाल साकोसलाई निरन्तर सफलताको शुभकामना समेत दिनुभयो। समूहगत नृत्य र रमाइला प्रस्तुति सहित सम्पन्न कार्यक्रममा सेवा केन्द्रका कर्मचारी प्रकाश श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने, कर्मचारी शेरबहादुर कटुवाल र शोभा तिवारीसहित ५२ जना सदस्यको उपस्थिति रहेको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सनाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय