
उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा आज अध्यक्ष पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। सञ्चालक समितिका निवर्तमान अध्यक्ष पुष्पलाल ढकालले सञ्चालक समितिको माइनुट नवनिर्वाचित अध्यक्ष विष्णु गुरागाईंलाई हस्तान्तरण गरेर अध्यक्षको कुर्सीमा बसाएका छन्। क्याम्पस प्रमुख खेमराज कार्कीले हस्तान्तरण कार्यक्रमबारे जानकारी दिँदै नवनिर्वाचित पाँच जना सदस्य बाहेक सबै सदस्यको उपस्थिति रहेको बताएका छन् । कार्यक्रममा निवर्तमान उपाध्यक्षसहितका पदाधिकारीहरू पनि सहभागी थिए।
सो अवसरमा क्याम्पस प्रमुख कार्कीले संस्थाको वर्तमान अवस्थाबारे धारणा राखे भने निवर्तमान अध्यक्ष ढकालले क्याम्पसलाई अझै अघि बढाउन सबैको सहकार्य आवश्यक पर्ने बताएका छन्।
नवनिर्वाचित अध्यक्ष गुरागाईंले सबैको सुझाव र सल्लाहलाई प्राथमिकता दिँदै क्याम्पसका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा निवर्तमान उपाध्यक्ष, सदस्य तथा निर्वाचित पदाधिकारीहरूले क्याम्पसको विकास र सुधारका लागि विभिन्न राय–सुझाव प्रस्तुत गरेका थिए।