
उर्लाबारी । कोशी प्रदेशको मोरङ जिल्लाको पूर्वीभागमा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पस हाल २ बिगाहा ३ कट्ठा १८ धुर क्षेत्रफलको जग्गा र २७ वटा कम्प्युटरसहित सञ्चालनमा छ। क्याम्पस प्रशासनका अनुसार यो जग्गा र प्रविधिगत सामग्री शैक्षिक पूर्वाधारका आधारभूत स्रोत भए पनि विद्यार्थी संख्याको बढ्दो माग र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अझै ठूलो लगानी आवश्यक देखिन्छ।
क्याम्पसमा हाल विभिन्न संकायमा विद्यार्थी अध्ययनरत छन्। स्नातक र स्नातकोत्तर तहका विषयहरू सञ्चालन भइरहेका भए पनि प्राविधिक र विज्ञानतर्फको अध्ययन अझै सिमित छ। कम्प्युटरको संख्या २७ मात्र हुँदा शैक्षिक प्रयोगशाला सञ्चालन गर्दा विद्यार्थीलाई पालैपालो प्रयोग गर्नुपर्ने बाध्यता रहेको प्राध्यापकहरूको भनाइ छ।
हालका अध्यक्ष विष्णु गुरागाईंका अनुसार क्याम्पसले उपलब्ध सम्पत्ति र स्रोतलाई दीर्घकालीन योजना बनाएर व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। उनले भने, “जग्गा र प्रविधिगत साधनलाई व्यवस्थित गर्न सकेमा क्याम्पसलाई स्थानीय मात्र नभई क्षेत्रीय स्तरको उत्कृष्ट शैक्षिक केन्द्र बनाउन सकिन्छ।”
तर, पर्याप्त कक्षा कोठा, पुस्तकालय विस्तार, प्राविधिक विषयका लागि प्रयोगशाला र छात्रावास सुविधा जस्ता आधारभूत पूर्वाधार अभाव नै प्रमुख चुनौती बनेको छ।
स्थानीय अभिभावक र विद्यार्थीहरूले क्याम्पसलाई गुणस्तरीय शिक्षा दिने संस्थाको रूपमा रुपान्तरण गर्नुपर्ने आशा राखेका छन्। उनीहरूका अनुसार यहाँ उच्च शिक्षा अध्ययनका लागि वैकल्पिक अवसरको अभाव भएकाले अधिकांश विद्यार्थीलाई अन्य सहरतर्फ धाउनुपर्ने अवस्था अझै कायम छ।
क्याम्पस प्रशासनले आगामी वर्षहरूमा नयाँ विषय थप गर्ने, कम्प्युटर प्रयोगशालाको संख्या विस्तार गर्ने, पुस्तकालय र अनुसंधान केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ। साथै, उपलब्ध जग्गामा नयाँ शैक्षिक भवन र हरियाली वातावरणयुक्त क्याम्पस पार्क निर्माण गर्ने दीर्घकालीन सोच पनि रहेको अध्यक्ष गुरागाईंले बताए।
स्थानीयस्तरमा उच्च शिक्षा विस्तार गर्ने उद्देश्यले स्थापना भएको उर्लाबारी बहुमुखी क्याम्पस अब व्यवस्थापन, पूर्वाधार र प्रविधिगत सुधारमार्फत क्षेत्रीय शैक्षिक केन्द्रमा रुपान्तरण हुने संभावनामा रहेको छ।