उर्लाबारी । नेपाल क्वान मुकान कराँते डो संघ, कोशी प्रदेशको प्रथम अधिवेशनले उर्लाबारीका चन्द्रबहादुर धिमाललाई अध्यक्ष चयन गर्दै नयाँ नेतृत्व टिमलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिएको छ ।
शनिबार मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा विजु नेपाल, सचिवमा दुर्गाबहादुर श्रेष्ठ र कोषाध्यक्षमा दिपा तामाङलाई सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै, रोजलिङ राई, सुमन लिम्बू र तनिशा सिठुगे मगर सदस्यका रूपमा चयन हुनुभएको छ । अधिवेशनमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य प्रदिप भगवत थारु, नेपाल क्वान मुकान कराँते डो संघका केन्द्रीय उपाध्यक्ष नरदेव राई, कार्यालय सचिव विक्रम श्रेष्ठलगायतको उपस्थिति थियो । नव–निर्वाचित अध्यक्ष धिमालले खेलाडीको क्षमता विकास, कराँते खेललाई आधुनिक अभ्याससँग जोड्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता जित्ने आधार तयार गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उहाँले कराँतेलाई प्रदेशभर फैलाउने, प्रशिक्षण प्रणालीलाई आधुनिक बनाउने योजना अघि सार्नुभएको छ । यो अधिवेशनले केवल नयाँ नेतृत्वलाई मात्र जन्म दिएको छैन, कराँते खेललाई कोशी प्रदेशमा अझ व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण बाटो पनि खोलेको छ ।























