उर्लाबारी । सुदूरपूर्व पाँचथरको फलैँचामा जन्मिएका उदायमान युवा कवि कृष्ण उदासीको कविता–संग्रह ‘पानीको पर्खाल’ को गृहविमोचन भव्य रूपमा सम्पन्न भएको छ। नेपाली साहित्य समाज, उर्लाबारीको आयोजनामा सनिवार उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको सभाहलमा सभ्य र साहित्यिक माहोलबीच कार्यक्रम सम्पन्न भएको हो ।
पूर्वेली कवि उदासीका जन्मदाताद्वय माता–पिताबाट पानसमा दीप प्रज्वलन गर्दै संग्रहको औपचारिक उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता नेपाली साहित्य समाज, उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमीले गर्नुभएको थियो । वरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यतामा भएको भएको विमोचन कार्यक्रमलाई मनु मंन्जिल, चन्द्र गुरुङ, मायामितु न्यौपाने , मिश्र वैजन्तीलगायतका प्रतिष्ठित साहित्यकार तथा सर्जकहरूले अझ प्रभावशाली बनाएका थिए।
फलैँचाको धरातलमा जन्मिएर उर्लाबारीलाई आफ्नो सिर्जनात्मक थलो बनाएका कवि उदासीलाई स्थानीय साहित्यिक मनहरुले ‘उर्लाबारीको गहना’का रूपमा सम्मान गर्दै आएका छन । नवविमोचित संग्रह ‘पानीको पर्खाल’मा जीवन, प्रकृति, समय, अनुभूति र आत्मदर्शनका विभिन्न पक्ष समेटिएका ४१ वटा कविता समावेश छन्।
भानुभक्त शिवाकोटी र जशोदा प्रसाई (शिवाकोटी) को साहिँलो सन्तानका रुपमा वि.सं. २०४१ माघ १८ गते जन्मनु भएका उदासीले २०५५ साल देखि साहित्य सिर्जनामा कलम चलाउन थाल्नु भएका हो । उपन्यास, गजल, गीत, कथा र कविता विधामा कमल चलाउँदै आउनु भएका उदासी सर्जकहरुको वायोग्राफी बनाएर प्रशारण गर्ने काममा उत्तिकै सकृय हुनुहुन्छ ।
उहाँको पहिलो कृति ‘दाइजो’ उपन्यास २०६४ मा प्रकाशित भएको थियो। ६०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ ।
उदासी विभिन्न साहित्यिक पत्रिकाको सम्पादन तथा रेडियोमा गजलसहितका साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । दीपज्योति युवा कविता प्रतियोगिता २०६६, कारितास कविता प्रतियोगिता २०६८,साहित्य कला संगम, खुल्ला कविता प्रतियोगिता २०७१ मा प्रथम बनेसँगै अन्य दर्जन बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुनुभएका उदासी पछिल्लो समय व्यवसायिक गीत लेखनमा तल्लिन बन्नु भएको छ । नेपाली चलचित्रका लागि समेत गरेर उहाँका हालसम्म ५ दर्जन गीत रेकर्ड भएका छन् । रेडियो नेपालले आयोजना गरेको ०८० सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायक गौरव दर्पणले गाएको ‘म घुम्टो उघार्छु’ बोलको गीतले प्रथम स्थान हाँसिल गरेको थियो ।
दर्जनौं चर्चित गीत तथा पुस्तकहरू लेखिसकेका उदासी पूर्वाञ्चल क्षेत्रमा लोकप्रिय सर्जक मानिन्छन्। साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न यो गृहविमोचन कार्यक्रममा सहभागीहरूले युवा कविको सिर्जनात्मक यात्रामा यसले नयाँ ऊर्जा र प्रेरणा थपेको प्रतिक्रिया दिएका छन्।























