उर्लाबारी । सीमा क्षेत्रमा देखिएका प्रशासनिक जटिलता तथा जग्गा–अभिलेखसम्बन्धी समस्या समाधानका लागि उर्लाबारी, रतुवामाई र मिक्लाजुङ स्थानीय तहबीच उर्लाबारी नगरपालिकामा अन्तर–नगर समन्वय बैठक सम्पन्न भएको छ ।
उर्लाबारी नगरप्रमुख गङ्गा प्रसाद खरेलको अध्यक्षतामा बसेको उक्त बैठकले तीनै स्थानीय तहलाई प्रभावित गर्दै आएका जग्गा नाप–नक्सा अस्पष्टता, जग्गाधनी प्रमाण–पत्रमा देखिने त्रुटि, जग्गा वर्गीकरण समस्या तथा दीर्घकालीन प्रशासनिक जटिलता समाधानका लागि संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बैठकका सहभागीहरूले सीमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका लागि एकीकृत अभिलेख व्यवस्थापन, नाप–नक्सा स्पष्टिकरण, तथा प्रशासनिक प्रक्रिया छरितो बनाउने विषयमा सहमति जनाएका छन् । तीनै स्थानीय तहबीच साझा समस्याको पहिचान गर्दै दीर्घकालीन समाधानका लागि एकीकृत कार्ययोजना निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा उर्लाबारी नगरप्रमुख गङ्गाप्रसाद खरेल, रतुवामाई नगरप्रमुख नागेश्वर प्रसाद सिंह, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राई, उर्लाबारी उप–प्रमुख मिनाकुमारी खतिवडा पौडेल, मिक्लाजुङ उपाध्यक्ष दिनेश पौडेल, उर्लाबारीका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता, रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत डमर बल्लव बराल, मिक्लाजुङका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेल, बेलबारी मालपोत कार्यालय प्रमुख दीपक कोइराला, बेलबारी नापी कार्यालयका शक्ति प्रकाश जोशी, साथै सम्बन्धित वडाध्यक्ष, कानुन अधिकृत, इन्जिनियर तथा प्राविधिक–प्रशासनिक कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सहभागी स्थानीय तहहरूले आगामी दिनमा निरन्तर समन्वय गर्दै मुद्दा–मामिला, नाप–नक्सा अद्यावधिक तथा अभिलेख एकरूपता द्ययाउन संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।























