उर्लाबारी । मोरङको उर्लाबारीमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । संसारीमाई जल्पादेवी मन्दिर व्यवस्थापन समिति र योसेक क्लबको संयुक्त आयोजनामा प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिता २०७८ हुने भएको हो ।
यही चैत ८ देखि १० गतेसम्म उर्लाबारी–३ स्थित चन्दने खेलमैदानमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने खेल संयोजक समिर कुईकेलले जानकारी दिनुभयो । प्रतियोगितामा संखुवासभाको सभापोखरी गाउँपालिका, भोजपुरको षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, झापाको दमक नगरपालिका, कमल गाउँपालिका र झापा गाउँपालिका, मोरङको उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका साथै बाग्लुङको गल्कोट नगरपालिकाको टिमको सहभागिता रहने योसेक क्लबका अध्यक्ष भीष्म बुढाथोकीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मुख्य प्रायोजक उर्लाबारी नगरपालिकाबाट ३ लाख ५० हजार सहयोग प्राप्त हुने र अन्य दाताहरुबाट सहयोग संकलन गरिएको संयोजक कुईकेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विजेतालाई १० तोला चाँदी जडित रनिङ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । साथै, प्रतियोगितामा विधागत उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने छ भने भोजपुर, संखुवासभा, बाग्लुङबाट आउने टिमलाई प्रत्येक दिन ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय