खेलकुद आफँैमा सशक्त विधा, जसमा उत्कृष्टता देखाएर नाम र दाम दुवै कमाउन सकिन्छ । खेलकुदका विभिन्न विधामा उर्लाबारीका खेलाडीहरु अब्बल छन् । जसले उर्लाबारीलाई खेलकुदको उर्वरभूमि भनेर चिनाएका छन् ।
व्यावसायिक फुटबलको सुरूवात भएदेखि नै उर्लाबारीका खेलाडीहरूले विभिन्न प्रतियोगितामा निरन्तर रूपमा सहभागीता जनाउँदै आएका छन् । मोफसल होस्, या त राजधानीका ‘ए’ डिभिजन क्लबबीचको प्रतिस्पर्धा उर्लाबारीका खेलाडी नै भेटिन्छन् । रजिन धिमाल हुन् वा निरज बस्नेत उनीहरू उर्लाबारीकै हुन् । यो सूची पल्टाउँदै जाने हो भने दीपेन्द्र धिमाल, प्रकाश बुढाथोकी, सञ्जिब बुढाथोकी, विजय धिमाल, मिक्चेन तामाङ, सूर्य अधिकारी, भुषण लिम्बू, रुपेश तामाङ जस्ता थुप्रै खेलाडी जोडिन आइपुग्छन् । दीपेन्द्र्र हाल जिल्ला फुटबल संघ मोरङका अध्यक्ष हुन् । सञ्जिब बुढाथोकी हाल फुटबल प्रशिक्षकका रुपमा क्रियाशील छन् । प्रकाश भने व्यापार व्यवसायमा सक्रिय छन् ।
रजिन, विजय, मिक्चेनले नेपालको जर्सीमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु खेलिसकेका छन् । सूर्य, भुषण, निरज, रुपेशले उमेर समूहको अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । एन्फाको उमेर समूह टोलीमा पनि वर्सेनि एक÷दुई जना खेलाडी उर्लाबारीबाट छनोटमा पर्दै आएका छन् । नेपालमा सम्पन्न साग खेलकुदमा पुरूष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल उर्लाबारीका मिक्चेन तामाङ पछिल्लो पुस्तामा हटकेट हुन् ।
उर्लाबारीमा पुरुष खेलाडीहरु मात्र हैनन्, महिला फुटबलरहरु पनि उत्तिकै अब्बल छन् । कविता धिमाल, करिना, लिला लाम्गादे यहाँका महिला राष्ट्रिय खेलाडीहरु हुन् ।
उर्लाबारी फुटबलसँगै क्रिक्रेट, भलिबल, कराँते, बडीबिल्डिङ, दौड प्रतियोगिता लगायत हुँदै आएको छ । सामुदायिक विकास मञ्चले वर्षेनि उर्लाबारी रन गर्दै आएको छ । खेलकुदको माध्यमबाट राष्ट्रको नाम उच्च राख्न महत्वपूर्ण योगदान पु¥याउने एक जना खेलाडीलाई उर्लाबारी नगरपालिकाले प्रत्येक वर्ष उर्लाबारी वर्ष खेलाडी घोषणा गरी प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने तयारी समेत गरेको थियो। सो कार्यक्रम लकडाउनका कारण रोकिएको छ । यसै बीच बडिबिल्डिङमा विकास धिमाल र ललित धिमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेल कौशलता देखाइसकेका छन् ।
हाल उर्लाबारी नगर खेलकुद विकास समितिका अध्यक्ष भीष्म बुढाथोकी हुनुहुन्छ । उक्त समितिको आयोजनामा २०७२ सालमा उर्लाबारीमा पहिलो पटक जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्न भयो । त्यसपछि उर्लाबारीमा महिला फुटबलको विकास गराउने उद्देश्यले नगर खेलकुद विकास समितिले राधिका मावि र मंगलबारेमा महिला खेलाडीलाई प्रशिक्षण गराएको थियो । त्यसपछि उर्लाबारीमा महिला खेलाडीहरु उत्पादन भए । यहाँका महिला खेलाडीहरु केराबारी गोल्डकप, चुलाचुली गोल्डकप लगायत विभिन्न प्रतियोगितामा भाग लिए । जसमा चुलाचुलीमा उत्कृष्ट नतिजा आएको थियो । नगर खेलकुद विकास समितिको सक्रियता पछि र महिला खेलाडीको कलाकौशलले यहाँका महिलालाई पूर्वाञ्चलका विभिन्न प्रतियोगितामा ‘अफर’ आउन थालेको छ।
उर्लाबारी गाविस हुँदै नगरसम्म आईपुग्दा फुटबल विधामा निकै ख्याति कमाउन सफल रह्यो । उर्लाबारीले राष्ट्रिय स्तरका खेलाडीहरु थुप्रै पाएको छ। प्रदेश नम्बर १ मै एउटै नगरमा यति धेरै राष्ट्रिय खेलाडी भएको नगर उर्लाबारी नगरपालिका हो भन्दा फरक नपर्ला ।
उर्लाबारीमा उर्लाबारी मेयर कप वर्षेनि भइरहेको छ । जहाँबाट पनि नयाँ प्रतिभावान् खेलाडीहरुको पहिचान भइरहेको छ । उर्लाबारीका खेलाडीहरुले फुटबलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाईसकेका छन् ।
उर्लाबारीलाई फुटबलबाट मात्र नभएर भलिबलमा पनि चिनाउनका लागि नगर खेलकुद विकास समितिले भलिबलको प्रशिक्षण दिने काम ग¥यो । पूर्व भलिबल खेलाडी वीरबल थापा, प्रेम डाँगी पछिको लामो समयान्तर पछि पुनः नयाँ पुस्ता उत्पादनको क्रममा छन् ।
हालको पुस्ताले तेह्रथुममा उर्लाबारी नगरको भलिबल टोली फाइनलमा पु¥यायो । उर्लाबारीमा खेलकुद विकास समितिले २०७४ मा अन्तर नगरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना ग¥यो । जसमा पनि उर्लाबारी फाइनलमा पुग्यो । महिलाहरुलाई पनि भलिबल प्रशिक्षण दिइयो । जस अनुरुप महिलाहरु पनि सहभागिता जनाउँदै आएका छन् ।
उर्लाबारीका क्रिक्रेट खेलाडीहरुलाई पनि समितिले वर्षेनि बल, ब्याट लगायत सामग्री सहयोग गर्दै आएको छ । एक ताका भगवान राईले उसु खेल उर्लाबारीमा प्रशिक्षण दिने काम गरेका थिए । त्यहाँबाट पनि सयौं खेलाडीहरु उत्पादन भए । यद्यपि, राईले त्यसलाई निरन्तरता दिन सकेनन् । केही युवा पुस्ताले उसु सिकाए पनि भनेजस्तो साथ नपाउँदा सो खेलको विकास हुन सकेन ।
थर्ड डन मानबहादुर थोप्राले उर्लाबारीमा मात्र नभएर पूर्वी मोरङमै कराँते सिकाउँदै आएका छन् । नगर तथा सहयोगीहरुको साथ सहयोगमा उहाँले वर्षेनि पूर्वाञ्चल स्तरीय सितेरियो कराँते प्रतियोगिता गराउँदै आएका छन् ।
मोरङको उर्लाबारीमा राष्ट्रिय स्तरका खेलाडीहरु प्रसस्त भएपनि खेलकुदका गतिविधि जति हुनुपर्ने हो हुन सकेको छैन। क्षेत्रीय, राष्ट्रिय स्तरका गतिविधि त एकादेशको कथा नै भइसक्यो भने फाट्टफुट मात्रामा नगर स्तरीय खेलचाहिँ हुने गरेका छन् । यहाँको गरिमा बोकेको उपेन्द्र थापा स्मृति गोल्ड कप, मदन भण्डारी गोल्ड कप, मचिन्द्र लिङथेप फुटबल हुन छोडेको छ । खैर, यी प्रतियोगिता नभएपनि हिलैमा फुल्छ कमल भने झैँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्तरीय खेल कौशल देखाएर खेलाडीहरुले यहाँको नाम उँचो राखेका छन् । यहाँका आयोजकहरुले प्रतियोगितालाई निरन्तता दिन सकेका छैनन्, निजी तथा सरकारी क्षेत्रका साथ सहयोग लिएर कोष खडा नै गरेर उर्लाबारीको खेलकुद गतिविधिलाई अझै दर्बिलो बनाउँदै खेल क्षेत्रमा खेलाडीहरुको भविष्य सुनिश्चित हुने मार्ग चित्र बनाउन आवश्यक छ ।

दिपक बास्तोला
(बास्तोला सञ्चार क्लब नेपालका महासचिव हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय