उर्लाबारी । लेटाङ नगरपालिकाको १७औँ नगरसभा सोमबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड ६ लाख २८ हजार २०० रुपैयाँको बजेट सार्वजनिक गरिएको छ।
सभामा नगर प्रमुख भुपेन्द्रकुमार लावतीले नगरसभाको उद्घाटन मन्तव्य राख्दै यथार्थमा आधारित बजेट निर्माण गरिएको बताए। उनले भने, “ जनप्रतिनिधिहरूले अब बजेटअनुसार नै काम गर्नुपर्छ , मेयरको पछि पछि कुद्ने होइन, समानुपातिक समावेशी विकास प्रणाली अपनाउनुपर्छ।”
उनले चुरे क्षेत्रका मुहानको संरक्षणका लागि विशेष कार्यक्रम ल्याइएको, पर्यटन गुरु योजना अघि बढाइएको, टमाटर र दुध उत्पादनका आधारमा अनुदान दिने तथा पशु अस्पताल सञ्चालन गरिएको जानकारी दिए। साथै हरेक टोलका बासिन्दालाई विभिन्न तालिम दिने योजना रहेको र शिक्षामा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको समेत बताए।
उनका अनुसार बजेटको दोस्रो प्राथमिकता सडक र तेस्रो प्राथमिकता स्वास्थ्य क्षेत्रमा राखिएको छ। उनले आँखा अस्पताल सुरु गर्ने तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको स्तरमा पुर्‍याउने योजना रहेको पनि खुलाए। नगरपालिकाले केयर सेन्टरको व्यवस्थापन समेत अघि बढाइसकेको बताए।
कार्यक्रममा उप–प्रमुख कृष्णकुमारी निरौलाले बजेट सार्वजनिक गर्दै बजेट निर्माणका सिद्धान्त र आधारहरु पनि स्पष्ट पारिन्। उनले नगरवासीको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै बजेट विनियोजन गरिएको बताइन्।
नगरसभामा पूर्व संघीय संसद घनश्याम खतिवडाले मन्तव्य राख्दै तम्मर–चिसाङ डाइभर्सन योजना आफूले २०७५ सालमा उठाएको र अहिले डीपीआरको चरणमा पुगेकोमा खुशी व्यक्त गरे।
सभाका प्रमुख अतिथि कोशी प्रदेशसभा सभामुख पर्शुराम खापुङले लेटाङको विकासक्रमलाई संघीयताको सदुपयोगको राम्रो उदाहरणको रुपमा उल्लेख गरे। उनले भने, “लेटाङले संघीयताको सदुपयोग होसियारीका साथ गरेको छ। अब स्थानीय तहलाई अझ सक्षम बनाउन दक्ष जनशक्ति तयार गर्नुपर्छ। नकारात्मक टिप्पणी गर्नेहरुलाई कामले नै पाठ सिकाउनुपर्छ, विविधतालाई एक बनाएर फुल्न दिनुपर्छ।” सभामाओवादी केन्द्रका नेता गोपाल नेपाली, पूर्व नगरप्रमुख शंकर राई, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र घिमिरे लगायतले समसामयिक मन्तव्य राख्दै नगरपालिकाले चालेका कदम उचित रहेको बताएका थिए।
नगरसभामा विभिन्न वडाका प्रतिनिधिहरू, नगरका कर्मचारी, नागरिक समाजका अगुवा तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख कृष्णराज राईले सञ्चालन गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको सुरुआत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय