उर्लाबारी। राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले मोरङको बेलबारी नगरपालिकाले सुकुम्बासी समस्या समाधानमा चासो नदेखाएको बताउनु भएको छ ।
नगरको सबैभन्दा बढी सुकुम्बासी र अब्यवस्थित भूमि समस्या रहेको वडा नं ११ का सर्वसाधरणले राष्ट्रिय भूमि आयोगसँग बेलबारी नगरपालिकाले सम्झौता नगरेपछि समाचार आएपछि आयोग अध्यक्ष निरौलाले नगरपालिकाले चासो नदेखाएको बताउनु भएको हो । अध्यक्ष निरौलाले भन्नुभयो– मोरङमा जहाँ जहाँ बढी समस्या छ । त्यही गाउँ र नगरपालिकाहरूका समस्या समाधान गर्न आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो । त्यति मात्र होइन, आयोगले फोन मार्फत बेलबारी नगरपालिकालाई आयोग सँग सम्पर्क गर्न सूचना गरेको थियो । तर, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदी र प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा नआएपछि पहिलो चरणमा बेलबारी नगरपालिका नपेरेको हो । निरौलाले दोस्रो चरणमा बेलबारीको समस्या सम्बोधन गरिने बताउनु भयो । राष्ट्रिय भूमि आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी २७ जिल्लाका ६८ पालिकासँग काम अघि बढाउने सम्झौता गरेको छ । सोही क्रममा मोरङका कानेपोखरी र बुढीगङ्गा गाउँपालिका र पथरीशनिश्चरे,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाले भूमि समस्या समाधानका लागि प्रक्रिया थालेका छन् । आयोग अध्यक्ष निरौलाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी जग्गा उपलब्ध गराउने र अब्यबस्थित बसोबासीको गर्ने प्रयोजनका लागि माघ १८ देखि ३५ दिन सम्म स्थानीय तहमा खटेका लगत सङ्कलक मार्फत आफूले आवाद कमोद गरेको जग्गाको नाप नक्शा गर्नु पर्नेछ ।
यसैबीच नेपाली कांग्रेस बेलबारी ११ का सभापति विक्रम राईले आफ्नो नगरको समस्या सम्बोधनमा बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुबेदी उदासिन भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो– सुकुम्बासी समस्या कुनै दल बिशेषको मात्र होइन । यो देशभरको समस्या हो । सरकार जुन दलको भए पनि सुकुम्बासी र अब्यवस्थित बसोबासको समस्या स्थायी रुपमा समाधान हुनुपर्छ । नगर प्रमुखले किन चासो देखाउनु भएन , यो प्रश्नको जवाफ कांग्रेसले मात्र होइन । सबै दल र समग्र नगरवासीले खोज्नेछन् ।























