सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पनाका दाइ मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका छन् । मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा बिरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उनले आफू आइपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले घटनास्थलको सुरक्षा दिइरहेको डीएसपी घर्तीले बताउनुभयो । घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।























