विराटनगर । नेपाली कांग्रेसका प्रदेश समिति सदस्य तथा बुढीगंगाका नेता शिव कोइराला १० वर्षीय बालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन् ।
मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसनवारी घर भएका कोइरालालाई आइतबार दिउँसो मोरङ प्रहरीले बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका काइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा शुक्रबार जवरजस्ती करणीको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीको आधारमा कोइरालालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि उहाँलाई नियन्त्रणमा लिएको हो,’ डिएसपी मुकारुङले भने, ‘सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेका छौं ।’ पीडितले जवरजस्ती करणीको उद्योगमा जाहेरी दिएको उनले बताए ।
बुढीगंगाको टंकिसिनवारीमा बावुको पसलमा बालिका शुक्रबार साँझ आएकी थिइन् । मुख धुन भनेर बावुको पसलनजिक रहेको बाथरुममा उनी गएकी थिइन् । ती बालिकाको गतिविधि शिव कोइरालाले पहिलेदेखि नै नियाली रहेका थिए । जब बालिका बाथरुमा जान्छिन्, एकछिन पछि उनी पनि सँगै जान्छन् । ‘बालिकाले बाथरुमबाट बाहिर निस्कन नपाउँदै कोइरालाले समातेर भित्र लगेर जबरजस्ती गरेको भन्दै गहभरी आँसु पार्दै हामीलाई सुनाइन्,’ पीडित बालिकाको भनाइ उधृत गर्दै एक आफन्तले भने ।
बालिकालाई जवरजस्ती गरेपछि कोइराला फरार भएका थिए । मोरङ प्रहरीमा जाहेरी दिएपछि उनलाई आइतबार नियन्त्रणमा लिइएको हो । बालिकाको विराटनगरको एक अस्पतलामा उपचार भइरहेको छ । बलात्कारको शिकारमा परेकी बालिका यतिबेला जीवन मरणको दोसाँधमा अस्पतालको शैय्यामा छटपटाइ रहेको आफन्त बताउँछन् । ‘अहिले पनि ती बालिकाको छेउमा पुग्यो भने काहालिने र चिच्याउने गर्छिन्,’ पीडितका एक जना आफन्तले हाम्रोमतसँग भने, ‘उनी माथि भएको घटनालाई सम्झिएर अहिले पनि बालिका बर्बराउने गरेकी छिन् ।’ वालिकाको अवस्था चिन्ताजनक छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार उनी रुने कराउने, चिच्याउने र घरिघरि बेहोस हुने गर्छिन् ।
हाम्रो मतबाट साभार























