उर्लाबारी । स्थानीय तहको निर्वाचन बैशाखमा हुने वा नहुने भन्ने विषयमा अन्यौल छ । तर, बैशाखमै निर्वाचन गराउन चौतर्फी दबाब परिरहेको छ ।
यसैक्रममा स्थानीय तहमा को उम्मेद्वार बन्ने हो भन्ने विषयमा चर्चा परिचर्चा सुरु हुन थालेको छ । चिया पसलहरुमा समेत चुनाबको चर्चाले महत्व पाउन थालेको छ । कांग्रेस, एमाले, माओवादीलगायत दलहरुले उर्लाबारी नगरपालिकामा कसलाई मेयर तथा उपमेयरको उम्मेद्वार बनाउनेदेखि कसले जित्नेसम्मका चर्चा हुन थालेको छ । नेपाली कांग्रेसबाट वर्तमान मेयर खड्ग फागो नै मेयरको उम्मेद्वार बन्ने प्रवल सम्भावना देखिएको छ । मेयर फागोले प्रदेश वा संघीय सांसदमा उम्मेद्वार बनेको खण्डमा मात्र अन्य आकांक्षीहरुका लागि बाटो खुल्ने देखिन्छ । नेपाली कांग्रेसको प्रदेश नं. १ को सह–महामन्त्री तथा प्रभावशाली युवा नेता फागो दोस्रो कार्यकालमा पनि मेयर बन्ने धेरैको अड्कल छ । मेयर फागो पुनः मेयरको उम्मेद्वार नबनेको खण्डमा उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, जयधर्म आचार्य, सीता कार्की, नगर सभापति सुरेन्द्र लिम्बूलगायत लामै आकांक्षीहरु देखिने निश्चित छ ।
यस्तै, कांग्रेसबाट उपमेयरमा सीता कार्कीको नाम अग्रपंक्तिमा चर्चामा छ । उहाँ यसअघि पनि उपमेयरको उम्मेद्वार बन्नु भएका कारण यस पटक पनि पार्टीले अघि सार्ने सम्भावना छ । उपमेयरमा कार्कीसँगै शोभा पालुङ्वा चेम्जोङ, गोमा नेपाललगायतको नाम चर्चामा ल्याइएको छ ।
यता एमालेबाट वर्तमान उपमेयर लक्ष्मीदेवी भण्डारी नै यसपटक मेयरको प्रमुख दाबेदार देखिनु भएको छ । भण्डारीसहित गत निर्वाचनमा मेयरमा पराजित बन्नु भएका भूपाल जिमी, उमाकान्त गौतम, गंगा बास्तोलालगायतको नाम चर्चा आएको छ । त्यस्तै, उपमेयरमा मेयरकै आकांक्षीमध्येबाटै पनि हुन सक्ने सम्भावना छ भने मिना पौडेल, भीष्मा रेग्मीलगायतको नाम पनि चर्चामै छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि उर्लाबारी नगरपालिकाको मेयरमा तारिलाल धिमाल, तोर्ण श्रेष्ठ, ममता ताजपुरीया, गजेन्द्र दंगाललगायत मध्येबाटै अघि सार्ने चर्चा छ भने उपमेयरमा मेयरकै आकांक्षीमध्येबाट छानिने छ । माओवादीले गठबन्धन गरेर उम्मेद्वार छान्ने पनि उत्तिकै सम्भावना रहेकाले को को पर्ने हो वा को सँग समिकरण हुने हो भन्ने विषयमा केन्द्रीय तहको भर पर्नु पर्ने अवस्था पनि उत्तिकै छ ।
त्यस्तै, एमालेबाटै फुटेको बनेको नेकपा एकीकृत समाजवादीबाट मानबहादुर श्रेष्ठ, डिबी थापालगायतको नाम मेयरमा चर्चा छ । यो पनिले पनि चुनाबी तालमेल गर्ने सम्भावना रहेको छ । त्यस्तै, जनता समाजवादी पार्टीलगायतका पार्टीबाट पनि मेयर, उपमेयरका उम्मेद्वार बनाउने सम्भावना छ ।
फेरि पनि फागोकै पल्लाभारी !
दोस्रो कार्यकालमा पनि उर्लाबारी नगरपालिकाको मेयर बन्ने प्रवल सम्भावना खड्ग फागोकै देखिन्छ । नेकपा एमाले पनि फुटेको र प्रभावशाली उम्मेद्वार नभएका कारण यस निर्वाचनमा पनि फागोकै पल्लाभारी हुने चर्चा चलेको छ । तर, फागो मेयरको उम्मेद्वार बन्ने हो की प्रदेश वा संघीय सांसदमा उठ्ने भन्ने विषयले भर पर्छ । जानकार स्रोतका अनुसार मेयर फागोले पुनः एक कार्यकाल मेयरकै जिम्मेवारी लिने सोच रहेको छ ।
चर्चामा आएका नाम मात्र यहाँ समावेश गरिएको छ –सम्पादक























