सरोज बस्नेत, उर्लाबारी
मोरङको उर्लाबारीमा ब्यवस्थित घाट निर्माणका लागि पहल थालिएको छ ।
आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अग्रसरतामा जग्गाधनीहरुसँग पहिलो चरणको छलफल भएको हो । जग्गाधनीहरुसँगको छलफल सकारात्मक भएको र चाँडै घाट निर्माणको प्रक्रिया अघि बढाइने मेयर फागोको भनाई छ । जग्गाधनी लोकबहादुर कटुवालले उर्लाबारीमा घाट निर्माण गर्न अतिआवश्यक रहेकाले जग्गा दिन तयार भएको बताउनुभयो । भेलामा सहभागी अधिकांशले घाट निर्माणका लागि जग्गा दिन तयार भएको भएपनि नगरपालिकाबाट ठोस कुरा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
स्थानीय गोपाल कटुवालले पनि बक्राहा घाट निर्माणका लागि सबै जना जुट्न आवश्यक रहेको बताउनुभयो । मृत्युपछि जलाउने घाट अब्यवस्थित हुँदा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै तत्काल घाट निर्माणका लागि प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
मेयर फागोले गुरुयोजना बनाएर ब्यवस्थित घाट निर्माण गर्ने योजना रहेको सुनाउनुभयो । मृत्युपछिको कर्ममा बसेकाहरुलाई बस्ने घरदेखि मन्दिर, पार्क, सडक कालोपत्रे, गार्डेनलगायतको योजना रहेको मेयर फागोले बताउनुभयो । उहाँले बक्राहा घाट निर्माणका लागि चाँडै ठोस कदम अघि बढाउने जानकारी दिनुभयो । सबैको साथ र सहयोगमा ब्यवस्थित बक्राहा घाट निर्माण गर्ने उहाँको भनाई छ ।
शव लगाउनै समस्या
उर्लाबारी नगरपालिकाको बक्राहा खोलाको वारि र पारी शव जलाउँदै आएको छ । उर्लाारी नगरपालिका–४ स्थित बक्राहा घाटको दुवैतर्फ शव जलाउने गरिएको भएपनि व्यवस्थित घाट निर्माण हुन सकेको छैन । घाट व्यवस्थित नहुँदा बाढीमा निकै कष्टपूर्ण तरिकाले शव जलाउँदै आएको छ । खोलामा दैनिक औसत २÷३ वटा शव जलाउने गरिएको छ । तर, व्यवस्थित घाट नभएकोले शव जलाउन कठिन हुने गरेको स्थानीय मिलन दाहालको भनाइ छ । जथाभावी रुपमा शव जलाउने गरिएका कारण दायाँबायाँका किनारामा लास जलाउन प्रयोग गरिने दाउरा, खरानी, अँगार त्यतिकै हुने गरेको छ । जसले गर्दा खोलाको किनार फोहोर र प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दा बताउँछन् । सो स्थानमा मलामीले खाएको पानी तथा बिस्कुटलका खोलहरु जथाभावी रुपमा खोलामा फ्ँयाक्ने गरिएको छ । जसले गर्दा घाट झन् अव्यवस्थित बनिरहेको छ । अझ वर्षायाममा बक्राहामा आउने बाढीले बगरक्षेत्र पुरै जलमग्न हुने गरेका कारण शव जलाउन कठिन हुने गरेको छ ।
नगरको गौरबको योजनामा बक्राहा घाट
उर्लाबारी नगरपालिकाको नगरसभाले गौरबको योजनाको रुपमा बक्राहा घाटका लागि ७० लाख रुपैयाँ छुट्याएको छ । यस आर्थिक बर्षमा नगरपालिकाले सो रकम छुट्याएपनि फ्रिज हुने सम्भावना बढेपछि मेयर फागो स्वम् बक्राहा घाट निर्माणमा अग्रसर हुनु भएको छ । यसअघि पनि गौरबकै योजनामा नगरभासले ५० लाख छुट्याएको थियो । तर, उक्त रकमले काम हुन सकेन । जग्गाका विषयमा विवाद हुँदा उर्लाबारीमा ब्यवस्थित घाट निर्माण हुन ढिलाई भइरहेको छ । यसप्रति सबैले ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय