काठमाडौं । राष्ट्रियसभाका १९ जना सदस्य चयनका लागि भोलि बुधबार मतदान हुँदैछ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेको १९ पदका लागि भोलि निर्वाचन हुन लागेको हो । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एकलरूपमा सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये एमालेका ८ जना, एकीकृत समाजवादीका ४ जना, माओवादी केन्द्रका ४ जना र कांग्रेसका ३ जना छन् ।

निर्वाचन आयोगले ७ जना महिला, ३ जना दलित, २ जना अपांगता भएका तथा अल्पसंख्यक र ७ जना अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो ।

एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवार छन् ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि भोलि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको हो ।

निर्वाचनको मौनअवधि सुरु भइसकेकाले प्रचार–प्रसार रोकिएको छ भने निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

https://www.purbicommand.com/wp-admin/post-new.php

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय