उर्लाबारी, मोरङको उर्लाबारी ९ गाइघाटमा स्थानीयको अवरोधको कारण स्थगित रहेको तटबन्ध कार्य पुनः सुरू हुने भएको छ । उर्लाबारी नगरपालिकाको गाइघाट र झापाको गौरादह जोड्ने रतुवा खोलाको निर्माणाधीन पुल उत्तरपट्टी बाध निर्माणका क्रममा आफ्नो जमिनबाट तटबन्ध हुने भएसी स्थानीय गोपाल भण्डारीले उच्च अदालत बिराटनगरमा मुद्दा हालेपछि स्थगित भएको निर्माण कार्य सुरू हुने भएको हो ।
आज उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडाध्यक्षको बमबहादुर फ्याक, वडा सदस्य, सर्मा एण्ड जेवी कम्पनीका ठेकेदार गुरूप्रसाद ढुंगाना र स्थानीयवासी सहित स्थलगत निरिक्षण सहित बसेको छलफलले तटबन्ध निर्माण कार्यमा अबरोध नगर्ने निर्णय गरेको छ । स छलफलले माघ १३ गतेबाट निर्माणको काम सुरु गर्ने सहमति भएको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताउनु भएको छ ।
स्थानीय गोपाल भण्डारीले आफ्नो सात कठ्ठा जमिनमा करिब ५० मिटर जमिन बाध निर्माणका क्रममा जाने भएकाले उक्त जमिनको मुआब्जाका लागि निबेदन हालेको बताउनुभएको छ । उहाँले माघ १३ गतेपछि अदालतको छलफल पछि काममा अवरोध नगर्ने बताउनुभएको छ ।
निर्माणाधीन पुलको उत्तरपट्टी ४०० मिटर पुल निर्माण कम्पनीले बाध निर्माण गरिदिने र बोडर लाइनबाट ADBको बजेटबाट९ सय ३० मिटर तटबन्ध हुने वडा नम्बर ९का वडाअध्यक्ष बमबहादुर फ्याकले बताउनुभएको छ ।
गत बर्ष कात्तिकमा आएको बेमौसमी बाढीले गर्दा उर्लाबारी ९ गाईघाट क्षेत्रको करिब ३ बिगाहा जग्गा खोलामा परिणत भएको छ भने करिब २५ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । त्यस्तै उर्लाबारी ९ छिन्ताङे टोलमा करिब ३ बिगाहा जमिन खोलाले कटान गरेको छ ।सोही टोलको करिब १५० बिगाहा धानबाली पुर्णरूपमा नष्ट गरेको छ।























