विराटनगर । मोरङको धनपालथान ७ बोर्डिङटोलस्थित उखुबारीमा हत्या गरेपछि खालड खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेकोमध्ये अर्को एक जना पुरुषको पनि चारदिनपछि पहिचान खुलेको छ ।
बुधबार उख्नन गरेर निकालिएको शव सप्तरीको सम्भूनाथ नगरपालिका ४ घर भइ काठमाण्डौंको क्षेत्रपार्टी बस्दै आएका ३२ वर्षिय शम्भू चौधरी रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । शनिबार आएका चौधरीका परिवारले शव पहिचान गरेपछि मोरङ प्रहरीमा आइतबार जाहेरी दिएपछि सनाखत गर्ने तयारी गरेका छन् ।
‘चौधरीले घरबाट लगाएर निस्किदाको टिर्सट, हातमा लगाएको डोरोले परिवारले पहिचान गरेका छन्,’ एसपी जिसीले भने, ‘परिवारले सनाखत गरेपछि पोस्मार्टम हुनेछ ।’ यस बिहीबार दिउँसो उत्खनन् गरेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेको खुलेको थियो । प्रहरीले उनको साथदेखि एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको थियो ।
उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा शव भेटिएको थियो ।
एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।























