रूपेन्द्र शेर्मा
उर्लाबारी । मोरङको उर्लाबारीमा भुस्याहा कुकुरहरुको विगविगी रहेको छ । तीनै भुस्याहा कुुकुरहरुले जनमानसमा आंतक सिर्जना गरिरहेका छन् । तर जनप्रतिनिधिलाई त्यसतर्फ कुनै चासो छैन ।
खासगरी जनघनत्व रहेको उर्लाबारी नगरपालिका वडा नं.६ र ७ मा अधिक संख्यामा भुस्याहा कुुकुरहरु पाइएको छ । ती कुकुरहरुले सडकमा हिंडडुल गर्ने र मोटरसाइकल तथा साइकलमा सवार सर्वसाधारणलाई झम्टने र टोक्ने गरेका छन् । भुस्याहा कुकुरले टोकेपछि स्थानीय स्वास्थ्य संस्थाहरुमा रेविजविरुद्धको खोप लगाउनेहरुको संंख्यामा वृद्धि भएको छ । उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले विगत एक महिनामा तीन सय डोज रेविजविरुद्धको खोप लगाइएको जानकारी दिएको छ ।
यकिन आंकडा नभएपछि उर्लाबारी नगर क्षेत्रमा दुई देखि तीन हजार वेवारिसे कुकुरहरु रहेको पाइएको छ । तीनै कुकुरहरुले सर्वसाधारणलाई आक्रमण गर्ने गरेका छन् । वेवारिसे कुकुरबाट खासगरी राती हिंड्ने पैदलयात्री र मोटरसाइकल तथा साइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् । यसर्थ सम्बन्धित निकायले भुस्याहा कुकुर नियन्त्रण गर्न अपरिहार्य छ । अन्यथा भुस्याहा कुकुरहरुको नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदिएमा जनमानसमा तनाव सिर्जना गर्ने मात्र होइन, मानवीय क्षति नै विहोर्नुपर्ने चिन्ता व्यक्त गरिएको छ ।























