काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ल्होसार पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।
सन्देशमार्फत उनले सबै जातिका विशिष्ट संस्कृति र परम्परा छन् भएको पनि उल्लेख गरेका छन् । ‘सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको उनको भनाइ छ ।
देउवाले परापूर्वकालदेखि मान्दै आएको सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।
उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।























