काठमाडौ,माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमतिबिना संसदमा एमसीसी अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता गुरुङले प्रतिपक्षी दलले विगत छ महिनादेखि संसद अवरुद्ध गर्दै आएको बताउदै यस्तो बेला कुनैपनि महत्वपूर्ण विधेयक तथा सन्धी अगाडि बढ्न नसक्ने बताए ।
नेता गुरुङले प्रतिनिधिसभामा विगतदेखि ४२ वटा विधेयक पाइपलाइनमा रहेर छलफल गर्न नपाएको उल्लेख गरे । उनले भने– ‘यस्तो अवस्थामा एमसीसी किन पेश गर्नुपर्ने ? हामीले विगतदेखि भन्दै आएका छौँ, एमसीसीमा केही राष्ट्रहित विरुद्धका केही प्रावधान रहेका छन् । त्यसकारण एमसीसी सम्झौतालाई परिमार्जन गर्नुपर्छ, अनिमात्र यो अगाडि बढ्न सक्छ भनेर हाम्रो दलले भन्दै आएको हो । संविधानले व्यवस्था गरेको ८९ धारामा जुन व्यवस्था छ यो त्यसको प्रतिकूल पनि छ । सन्धी ऐन २०४७ सालसँग पनि मेल खाँदैन् । यस्तो आर्थिक सहयोगलाई सदनबाट अनुमोदन गराउने अभ्यास विगतमा पनि छैन् । विगतमा सरकारले पसाचौं आर्थिक सहयोग सम्झौता गरेको छ तर संसदबाट अनुमोदन गर्ने व्यवस्था छैन्, त्यो अभ्यासको पनि प्रतिकूल छ ।’ उनले एमसीसी संसदमा टेवल गर्ने कार्यसूची बनाउनका लागि पनि राष्ट्रिय सहमति जुट्नुपर्छ भन्दै आएपनि यसरी प्रस्तुत हुनु उपयुक्त नभएको बताए । उनले यसबारेमा आफ्नो दलको तर्फबाट कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारेको पत्र दिएको उल्लेख गरे । साथै संसदको अवरोध खुलाउनका लागि सरकार र प्रतिपक्षी दलसँग आग्रह गरे ।























