उर्लाबारी । मोरङको उर्लाबारी–६ मा न्यू सिद्धार्थ क्लबले मिनि खेलमैदान निर्माण गरेको छ । स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित निर्माण गरिएको उक्त मैदानमा अब नियमित प्रशिक्षणसमेत सञ्चालन गरिने क्लबले जनाएको छ ।
क्लबले विशेषगरी १५ वर्षमुनिका (युथ–१५) खेलाडीलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी छ । चैत्र २१ गते नियमित प्रशिक्षणका लागि प्रशिक्षकका रूपमा विनोद धिमाल लाई नियुक्त गरिएको क्लबले जानकारी दिएको छ ।
क्लबका अध्यक्ष दिनेश दाहालले खेलकुद क्षेत्रको विकासमा क्लब निरन्तर सक्रिय रहने बताउँदै भन्नुभयो, “युवा पुस्तालाई सही दिशामा लैजान खेलकुद अत्यन्तै प्रभावकारी माध्यम हो । हामीले आधारभूत स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।”
त्यस्तै, कार्यक्रमका संयोजक कम्लेस राईले स्थानीय स्तरमै खेलकुद पूर्वाधार निर्माण हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित प्रशिक्षण र प्रतियोगितामार्फत प्रतिभा उजागर गर्ने योजना रहेको बताउनुभयो । स्थानीय युवाहरूको सक्रिय सहभागितासँगै क्लबले आगामी दिनमा अन्य खेलकुद गतिविधि पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ ।























