काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा गए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन्।उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे।
खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने कुरा समेत बताए।। उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो। संसदमा विभाजन आयो। राजनीतिक पार्टीहरुका बीचमा विभाजन आयो र आम जनताका बीचमा समेत विभाजन आयो। यो गम्भीर सवाल हो। यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकतावद्ध हुनुपर्छ। राष्ट्रिय सहमति हुनुपर्छ।
अझै सहमतिका के सम्भावना छन् ती सम्भावनाहरु खोज्नुपर्छ। त्यो खोजेर सम्भव छ भने अझै पनि पत्ता लगाऔँ। देश जनतालाई विभाजित गर्ने काम नगरौँ। नेपाली कांग्रेसले कसरी अघि बढ्ने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ। जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ।























