विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा शव भेटिएका दुई जनाको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङमा ६ जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सिरहा नगरपालिका–२१ का ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ का ६२ वर्षका नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षका मोहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८ वर्षीय मोहमद हकिमविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर गरेको हो । अर्का एक आरोपी भने हाल फरार छन् ।

गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको उखुबारीमा गाडिएको अवस्थामा सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षका शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव फेला परेको थियो ।

त्यही घटनासँग जोडिएको ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्ड भित्र गाडेको अवस्थामा अर्को शव फेला परेको थियो ।

तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौँ महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको शव फेला परेको थियो ।

मोरङ र ललितपुरको हत्या प्रकरणमा संलग्न एउटै गिरोह रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय