उर्लाबारी । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मितितय गरिसकेको छ । मितितय भएसँगै चुनाबी सरगर्मी बढेको हो । यस्तै, मोरङको उर्लाबारीमा चुनावी माहोल बढेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरु टोलटोलमा भेला गरिरहेका छन् ।
२०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खड्ग फागो निर्वाचित हुनुभएको थियो । उहाँले ११ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो । फागोले निकटतम् प्रतिस्पर्धी भुपालसिंह जिमीलाई ३ हजार ९० मत अन्तरले पछि पार्नुभएको थियो । जिमीले ८ हजार ५४२ मत ल्याउनुभएको थियो । नेकपा माओवादी केन्द्रका राजेन्द्र पौडेलले १ हजार ९७९, राप्रपाका विनोद पोख्रेलले २६८, जनजागरण पार्टी नेपालका टिकाराम भुजेलले ६५, संघीय समाजवादी फोरम नेपालका मनोहरि दाहालले ६३, फोरम लोकतान्त्रिकका टेकबहादुर धिमालले ३८ र स्वतन्त्र उम्मेद्वार नरसिंह धिमालले १३ मत प्राप्त गर्नुभएको थियो । तत्कालिन माओवादी केन्द्रबाट मेयरको उम्मेद्वार रहनुभएका पौडेल अहिले नेकपा एमालेमा हुनुहुन्छ भने संघीय समाजवादी फोरमका मनोहरि दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । २०७४ सालको निर्वाचनमा सिंगो एमाले एकजुट थियो भने अहिलेको अवस्थामा सोही पार्टीका बरिष्ठ नेता माधब नेपालको समूह नेकपा एकीकृत समाजवादी गठन गरेर गतिबिधि बढाएको छ ।
फागो मेयरमा सुरक्षित !

खड्ग फागोले ल्याउनुभएको मत ११ हजार ६३२ अन्य सबै पार्टीको जोड्दा पनि पुग्दैन । भूपाल सिं जिमीले ८ हजार ५४२, नेकपा माओवादी केन्द्रका राजेन्द्र पौडेलले १ हजार ९७९, राप्रपाका विनोद पोख्रेलले २६८, जनजागरण पार्टी नेपालका टिकाराम भुजेलले ६५, संघीय समाजवादी फोरम नेपालका मनोहरि दाहालले ६३, फोरम लोकतान्त्रिकका टेकबहादुर धिमालले ३८ र स्वतन्त्र उम्मेद्वार नरसिंह धिमालले १३ मत प्राप्त गर्नुभएको थियो । यो सबै जोड्दा १० हजार ९ सय ६८ मत हुन्छ । फागोको मत
६ सय ६४ बढी देखिन्छ । विगतको नतिजा हेर्दा फागो यस पटक पनि उर्लाबारी नगरपालिकाको मेयरमा उठ्दा सहज जित निकाल्ने अड्कल काटिएको छ । कांग्रेसइतर पार्टी मिल्ने सम्भावना पनि छैन । एमाले विभाजनका कारण पनि फागो विगतको भन्दा सानदार मतका साथ विजयी हुने जानकारहरु बताउँछन् ।























