विराटनगर।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कानूनले अवैध गरेको कन्या भ्रुण हत्या नियन्त्रणका लागि हामी सबैको जिम्मेवारी रहको बताउनु भएको छ।
सामाजिक विकास मन्त्रालयद्वारा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले समाजमा महिलाले अहिलेसम्म दुःख कष्ट बेहोरिरहेको अवस्थामा पृथ्वीमा नआउन दिन भ्रुण हत्या जस्तो अवैध कार्य भैरहेकोले सबैले यस कार्यलाई अविलम्व रोक्नु पर्नेमा जोड दिनु भयो।
मुख्यमन्त्री राईले महिलालाई शिक्षाबाट वन्चित गरेमा मुलुकको विकासमा ठूलो घाटा हुने चर्चा गर्दै राज्यले उनीहरुलाई पुरुष सरह वराबरीमा ल्याउन नीति ऐन कानून बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो।
उहाँले महिलाहरुलाई समानुपाति प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिदै उनीहरुको सुझवुझ र श्रमबाट घरपरिवार, समाज र देशका चौतर्फी विकास हुने धारणा राख्नु भयो।
स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न मागरे प्राप्त नभएमा खोसेर लिनु पर्छ भन्नु भयो। उपसभामुख सरस्वती पोखरेलले महिलाहरुको संघर्षबाट ४० प्रतिशत स्थानीय पालिकामा प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वन्चित गराउन समाज लागी परेको आरोप लगाउनु भयो।
सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनु भयो। मोरङका प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि ‘महिला मैत्री’ समाज निर्माणका लागि लाग्नु पर्ने आवश्यक्ता औल्याउनु भयो।
मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे,गैर सरकारी महासङ्घकी उपाध्यक्ष सिता शर्माले समाज र राष्ट्रको प्रगतिमा महिलाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो।
यस अघि देवकोटा चोकबाट मुख्यमन्त्री राई, सामाजिक विकासमन्त्री राजन राई,राज्यमन्त्री तुम्वाहाम्फे सम्मिलित प्रभातफेरीले नगरको मुख्य मुख्य भागका परिक्रममा गरि आर्दश विद्यालयमा पुगी सभामा परिणत भएको थियो।
प्रभातफेरीमा सशस्त्र प्रहरी,नेपाल प्रहरी,सामाजिक विकास मन्त्रालय,विभिन्न सङ्घसंस्था,नर्सिङ्ग कलेज र विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो।
यसैगरी आज आर्दश विद्यालको प्राङगणमा आयोजित खुल्ला रक्तदानको स्वास्थ्यमन्त्री यादवले एक पिण्ट रक्तदान गरि शुभारम्भ गर्नु भयो।























