उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोले कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियान स्वरुप टोलटोल भएको भेलामा देखिएको जनलहरले प्रष्ट पार्ने बताउनुभयो ।
आज उर्लाबारी–३ स्थित नयाँ मंगलबारे शिवालय टोल समिति गठन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले टोलटोलमा कांग्रेसमा जनलहर बढेको बताउनुभएको हो । जनताको हितमा काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै उहाँले देशैभरी कांग्रेसप्रति देखिएको उत्साहले पहिलो पार्टी बन्नेमा कुनै शंका नरहेको बताउनुभयो । उक्त टोल भेलामा विभिन्न पार्टी परित्याग गरी ४१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई सह–महामन्त्री फागोले अविर र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गर्नुभयो । सोही अवसरमा गिर्जाबहादुर रायाको सभापतित्वमा ३३ सदस्यीय टोल समिती पनि गठन गरिएको छ ।
टोल समितिको उपसभापतिमा राजा शर्मा र सुजन लिम्वु, सचिवमा नन्दराज ढकाल र दिक्षा ढकाल, सहसचिवमा प्रविण तामाङ र पुजा श्रेष्ठ तथा कोषाध्यक्षमा मञ्जु भुजेल रहनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता तथा वडा नम्वर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिनालगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस वडा नम्वर–३ का सभापति रोहित कार्कीको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव प्रदिप संग्रौलाले गर्नुभएको थियो ।























