उर्लाबारी । उर्लाबारी वडा नं. ४ को कार्यालयमार्फत गरिएको स्वास्थ्य बिमा ‘फेक’ सावित भएको छ ।
गरिब तथा विपन्न कोटामा उर्लाबारी वडा नं. ४ का बलबहादुर विकलाई वडा कार्यालयकी बिमाकर्ता संगीता आचार्यले बिमा गराइदिनुभएको थियो । तर, हालसम्म पनि बिमा चालु नभएपछि नगरपालिकाको स्वास्थ्य शाखामा बुझ्दा ‘फेक’ सावित भएको आफन्त रमित सेन्चुरीले बताउनुभयो । २०७८ साल पुषमा गरिएको बिमा अझैसम्म चालु नभएकोबारेमा बिमाकर्ता आचार्यले मेयर खड्ग फागोले रोकेको बताएको आफन्त सेन्चुरीको भनाई छ । तर, आचार्यले भने आफुले त्यस्तो नभनेको बताउनुभएको छ । वडा कार्यालयमार्फत १६ जनाको नविकरण तथा २९ जनाको नयाँ बिमा गरिदिएको उहाँको भनाई छ । वडाध्यक्षले भने बमोजिम आफुले काम गरेको आचार्यले नगर स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेलाई जानकारी गराउनुभएको थियो । बलबहादुरकी श्रीमित २८ बर्षीया सपनाकुमारी विकको ब्लड क्यान्सर भएपछि टिचिङ अस्पताल काठमाडौंमा उपचारको क्रममा बिमा कार्ड देखाउँदा चालु नै नभएको बताएपछि समस्यामा परेको आफन्त सेन्चुरीको भनाई छ । ‘आर्थिक अवस्था पनि कमजोर छ, बिमा पनि ‘फेक’ बनाएर वडा कार्यालयले धोका दिएको छ’ उहाँले भन्नुभयो ।
यस बिषयमा उर्लाबारी वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यता उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई वडा नं. ४ को बिमा गरेको ब्यक्तिको रोकिदिनुभयो भन्ने कुरा आयो नि भन्ने प्रश्नमा आफुले कसैको बिमा नरोकेको र भ्रम छर्ने काम भएको बताउनुभयो । गरिब तथा विपन्नलाई नगरपालिकाले नै पैसा तिरेर बिमा गर्ने ब्यवस्था मिलाएको बताउँदै जनप्रतिनिधिहरुले जनतालाई दुख दिने काम गर्न नहुने बताउनुभयो ।
यता स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले वडामार्फत बिमा गरिएको भन्ने कुरा आएपनि बैधानिक रुपमा प्रक्रिया नपुगेका कारणले अझै चालु हुन नसकेको बताउनुभयो । गरिब तथा विपन्नहरुको स्थलगत स्थिति हेरेर बिमा गर्ने ब्यवस्था गरिएको भएपनि हालसम्म वडामा गरिएको बिमाको प्रक्रिया नपुगेकाले बिमितले दुख पाएको प्रष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय