विकास निरौला
उर्लाबारी । उर्लाबारी वडा नं. ४ की २८ बर्षीया सपनाकुमारी विक ब्लड क्यान्सर भएर उपचारत हुनुहुन्छ । उहाँको काठमाडौंस्थित टिचिङ अस्तापलमा उपचार भइरहेको छ । उहाँको परिवारको आर्थिक अवस्था ज्यादै कमजोर छ । सोही आधारमा उर्लाबारी वडा नं. ४ ले स्वास्थ्य बिमा निःशुल्क गरिदिएको थियो । २०७८ साल पौषमा गरिएको बिमा अहिलेसम्म पनि चालु नहुँदा समस्या उत्पन्न भएको आफन्त रमित सेन्चुरीले जानकारी दिनुभयो । वडा कार्यालयकी बिमाकर्ता संगीता आचार्यले सपनाकुमारीको परिवारको बिमा गरिदिनु भएको थियो । आचार्यले फागुनदेखि बिमा लागु हुने भएको भएपनि हालसम्म लागु नहुँदा बिरामीको उपचारमै समस्या खडा भएको सेन्चुरीको भनाई छ । ‘वडामा बजेट नभए किन ‘फेक’ बिमा गरेर दुख दिने काम गरियो’ उहाँ प्रश्न गर्नुहुन्छ । सपनाकुमारीमात्र होइन उर्लाबारी–४ की छत्रकुमारी तामाङको पनि समस्या उस्तै छ । ‘बिमा त गरियो, अहिलेसम्म चालु भएन, त्यो बिमाको के काम’ उहाँले भन्नुभयो । बुहारीलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर तथा अस्पतालमा लैजादा बिमा चालु नभएको बताएपछि उपचारमै समस्या भएको उहाँको अनुभव छ । बिमाको नाममा वडा कार्यालयले झुक्याएको उहाँको आरोप छ ।
बिमा अझैसम्म चालु नभएकोबारेमा बिमाकर्ता आचार्यले मेयर खड्ग फागोले रोकेको बताएको आफन्त सेन्चुरीको भनाई छ । तर, आचार्यले भने आफुले त्यस्तो नभनेको बताउनुभएको छ । वडा कार्यालयमार्फत १६ जनाको नविकरण तथा २९ जनाको नयाँ बिमा गरिदिएको उहाँको भनाई छ । वडाध्यक्षले भने बमोजिम आफुले काम गरेको आचार्यले नगर स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेलाई जानकारी गराउनुभएको थियो ।
यस बिषयमा उर्लाबारी वडा नं. ४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाललले १५ लाख रुपैयाँ वडामा स्वास्थ्य बिमाका लागि छुट्याएको भएपनि कार्यान्वयमा समस्या भएका कारण बिमा चालु नभएको बताउनुभयो । यता उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई वडा नं. ४ को बिमा गरेको ब्यक्तिको रोकिदिनुभयो भन्ने कुरा आयो नि भन्ने प्रश्नमा आफुले कसैको बिमा नरोकेको र भ्रम छर्ने काम भएको बताउनुभयो । गरिब तथा विपन्नलाई नगरपालिकाले नै पैसा तिरेर बिमा गर्ने ब्यवस्था मिलाएको बताउँदै जनप्रतिनिधिहरुले जनतालाई दुख दिने काम गर्न नहुने बताउनुभयो ।
यता स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले वडामार्फत बिमा गरिएको भन्ने कुरा आएपनि बैधानिक रुपमा प्रक्रिया नपुगेका कारणले अझै चालु हुन नसकेको बताउनुभयो । गरिब तथा विपन्नहरुको स्थलगत स्थिति हेरेर बिमा गर्ने ब्यवस्था गरिएको भएपनि हालसम्म वडामा गरिएको बिमाको प्रक्रिया नपुगेकाले बिमितले दुख पाएको प्रष्ट पार्नुभयो ।























