काठमाडौँ । नेपालमा गर्मी बढ्न थालेको छ ।
बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेका कारण देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको आग्रह गरेको छ ।
मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो । देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
वुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ । शुक्रबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।























