उर्लाबारी । प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखा उर्लाबारीकी सदस्य सम्झना राईलाई भिडियो खिचेकै आधारमा पक्राउ गर्नु निन्दनीय भएको भन्दै रिहाईको माग गरेको छ ।
प्रेस सेन्टर नेपाल पूर्वी मोरङ शाखा उर्लाबारीले आज विज्ञप्ति जारी गर्दै संचारकर्मी राईको रिहाईको माग गरेको हो । सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले गरेको आन्दोलनको भिडियो खिच्ने क्रममा चैत्र १ गते संचारकर्मी राईलाई प्रहरीले पक्राउ गरेको थियो । संचारकर्मी राईलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको पूर्वी मोरङ शाखाका अध्यक्ष सरोज बस्नेतद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने गरी प्रहरी प्रशासनबाट भएको यस्तो व्यवहारले समग्र पत्रकारिता क्षेत्र माथि नै प्रहार भएको हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ । पूर्वी कमाण्ड मिडियाकी राई रेडियोलगायतमा समेत काम गरिसक्नु भएको छ ।























