विराटनगर । १८ महिने बालिका बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधरणले आज पनि मोरङको गछियामा प्रदर्शन गरेका छन् । उनीहरुले बलात्कारीलाई फासिको सजाय हुनुपर्ने र गाउँमै सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
प्रहरीले भने उक्त माग पुरा गर्न नसकिने बताएको छ । नेपालको संविधानमा फाँसीको सजायलाई निषेध गरेको छ भने गाउँमै सार्वजनिक गरे दोषिहरुमाथि आक्रमण हुनसक्ने प्रहरीको भनाइ छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो । सर्वसाधरणले मोरङको सुन्दरहरैंचाको गछियामा हिंजो पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा संचारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेकी संचारकर्मी राईले आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी पनि नभएको बताइन् । प्रहरीले भने उनीपनि आन्दोलनमा सहभागी भएको दाबी गरेको छ । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पक्राउ परेकाविरुद्ध मुद्दा चलाउने तयारी गरेको बताए । ‘अभद्र व्यवहार’मा मुद्दाको तयारी गरिरहेको उनको भनाइ छ । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालित पूर्वीकमाण्ड अनलाइनमा काम गर्छिन् ।
भिडियो खिचेकै आधारमा संचारकर्मीलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरुद्धमा भएको प्रेस सेन्टर मोरङ उर्लाबारी शाखाका अध्यक्ष सरोज बस्नेतले बताए । पूर्वी कमाण्ड मिडियाका अध्यक्षसमेत रहेका बस्नेतले संचारकर्मी राईलाई तत्काल छोड्नुपर्ने र मुद्दा हाल्न नहुने बताए ।
पक्राउ परेको उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । संचारकर्मीलाई पनि पक्राउ गरी मुद्दा दर्ता गरेको घटनाप्रति पत्रकारहरुको संगठनले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय