उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उर्लाबारी नगरपालिकाका ५ सय ७४ जना अपाङ्गता भएका व्यक्तिले अपाङ्गता परिचयपत्र प्राप्त गरेको बताउनु भएको छ ।
बुधबार अपाङ्गता भएका ब्यक्तिहरूका लागि उर्जाशील अवसर परियोजनाले DPOs प्रतिनिधि एवम् पालिका प्रमुख तथा प्रतिनिधिहरूसंग गरेको समन्वयात्मक बैठकमा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सो कुरा बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको भण्डारीले क वर्गमा १ सय ५३ जना महिला ६७ पुरुष ८६ जना ख वर्गका २ सय ६८ जना महिला १ सय ११ पुरुष १ सय ५७ जना ग बर्गका ९० जना महिला ३८ पुरुष ५२ जना र घ बर्गका ६३ जना महिला ३१ र पुरुष ३२ जना रहेका बताउनु भएको छ।
कार्यक्रममा परियोजनाका मेनेजर बिपिन दासले अपाङ्गता भएका ब्यक्तिको संख्या मोरङमा १७ हजार ५३ रहेको बताउनु भएको छ । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै दासले विगत दुई वर्षदेखि मोरंग सुनसरी मा परियोजनाले काम गर्दै आएको बताउनु भएको छ। उहाँले अपाङ्गता भएको ब्यक्तिलाई अवसरसँग जोड्ने, सीप सिकाउने, रोजगारी दाताको खोजी गर्ने, अपाङ्गता भएको ब्यक्तिलाई अनुदान रकम दिने,सहायकमा सामाग्री वितरण गर्ने, सीपमूलक तालिम प्रदान गर्ने जस्ता कार्य परियोजनाले गर्दै आएको बताउनु भएको छ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष गञ्जबहादुर कार्कीले अपंगता भएका व्यक्तिहरूलाई निरन्तर वडाले सहयोग गर्दै आएको र यस आर्थिक बर्षमा समेत बजेट छुट्याइएको बताउनु भएको छ । त्यस्तै वडा नम्बर ५ का वडाध्यक्षको भानु शर्मा पराजुलीले वडाबाट बजेट छुट्याए पनि खाद्यान्न सहयोग गर्न नपाइने, सहयोग सामाग्री बितरण गर्न पाइदैन भनेर नगरबाट नदिएको कारण कार्यान्वयन बजेट गर्न गार्हो भएको गुनासो ब्यक्त गर्नु भएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरूको समूहको अध्यक्ष ब्यासकुमार लिम्बूको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रम परियोजनाको बिजनेस डेभलपमेन्ट अफिसर भरत दाहालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम सगरमाथा सहकारी संस्थाको सभा हलमा सम्पन्न भएको थियो।























