मोरङ । प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले मोरङको लेटाङमा आइतबार भएको घटना जघन्य भएको बताउनुभएको छ ।
आज साँझ एक विज्ञप्ति जारी गरेर उहाँले लेटाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । उक्त घटनाले आफु स्तब्ध भएको उहाँले बताउनुभयो । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहनु भएका मन्त्री घिमिरेले आइतबारको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । ‘मिति २०७८ चैत्र ४ गते शिक्षा विकास मा.वि.का एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको भनिएको घटना वास्तविक न्याय पाउने दिशामा अघि बढिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य, आततायी घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,’ उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘केही अराजक व्यक्तिहरूको भीडले घटनालाई हिंसातिर मोड्ने मनसायले शिक्षकहरूमाथि आक्रमण, विद्यालय तोडफोड, आगजनी गर्न सुरु गरेकाले भीड नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीहरू जिम्मेवारीका साथ खटिएका थिए ।’
‘एउटी चेलीलाई न्याय दिलाउन गरिएको आन्दोलनलाई नै शान्तिपूर्ण बनाउन र नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिन खटिएकी एक होनाहार राष्ट्रसेवक सुरक्षाकर्मी गुमाउनुपर्दा अत्यन्त दुखित भएको छु’ मन्त्री घिमिरेले भन्नुभएको छ, ‘नागरिकको शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीहरूमाथि नै ढुंगामुढा प्रहार गर्ने र अझ हत्यासम्म गर्ने घटनामा संलग्न जो कोही भएपनि तिनलाई कानुनी दायरामा ल्याउनका लागि सहयोग गर्न सबै सामाजिक संघसंस्था, राजनीतिक दल तथा व्यक्तिहरूमा म हार्दिक आह्वान गर्दछु ।’























