उर्लाबारी । २०७६ चैत्र ५ गते मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले शिलान्यास गरेको सडक कालोपत्रेले बल्ल सार्थकता पाएको छ ।
उर्लाबारीको चिउरामिल हुँदै आम्बारी–गाईघाट सडक कालोपत्रे प्रदेश सरकारको रातो किताबमा परेको थियो । पहिलो चरणमा प्रदेश सरकारको १ करोड ३० लाख रुपैयाँ सशर्त अनुदानबाट उर्लाबारी–७ चिउरामिलदेखि बैशाबारीसम्म १२ सय मिटर सडक कालोपत्रे यसअघि नै सम्पन्न भइसकेको छ । बैशाबारीदेखि आम्बारीसम्म १५ सय मिटर सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ । चैत्र महिनाभित्रै सडक कालोपत्रे सम्पन्न हुने मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशलको भनाई छ । उहाँले सडक कालोपत्रेको कामको अनुगमन गर्दै गुणस्तर काम गर्नका लागि ठेकेदार पक्षलाई खबरदारी गर्न स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो । अनुगमनमा प्रदेश सांसद कुशलसहित माओवादी केन्द्रका नेता प्रेम मिभक, दिनेश पौडेल, अमर सेलिङ, नेपाली कांग्रेसका युवा नेता प्रकाश कन्दङ्वा, स्थानीयबासीलगायतको सहभागीता रहेको थियो ।
सडक कालोपत्रेको ठेक्का केएन निर्माण सेवा कम्पनी रतुवामाईले पाएको थियो । प्रदेश सरकारको २ करोड लागतमा कालोपत्रेको काम भइरहेको बताइएको छ । सोही कम्पनीले यसअघि सो सडक कालोपत्रेका लाठि ठेक्का पाएपनि काम सकेको थिएन । स्थानीयबासी, जनप्रतिनिधि तथा प्रदेश सांसद कुशलको पहलमा सोही ठेकेदार कम्पनीले अहिले सडक कालोपत्रेको काम गरिरहेको छ । आम्बारीदेखि भोटेपुलसम्म सडक कालोपत्रको काम भइसकेको छ । क्रमशः उर्लाबारी–९ को गाइघाटसम्म कालोपत्रेको काम गर्ने प्रदेश सांसद कुशलको भनाई छ ।
उर्लाबारी–७ को चिउरामिलदेखि गाईघाटसम्म १०.५४० किलोमिटर सडक कालोपत्रेका लागि डिपिआर तयार भइसकेको छ । सडक कालोपत्रेका लागि करिब ४० करोड बजेट अनुमान गरिएको छ ।























